काठमाडौँ, २२ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साे कुराकाे जानकारी दिएकाे हाे ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिइन् । उनको अनुसार बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार ९६७ जना र नुवाकोटबाट करिब दुई हजार ३४० नेपाली सम्पर्कविहीनको विवरण अद्यावधिक छ ।
उनका अनुसार, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ । यसबीच बाढीमा फसेकाहरु मध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।






