घट्दै कोदो खेती

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ ।

खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि पछिल्लो समय कम आम्दानी, बढी मेहनत र बजारको अभावका कारण किसान अन्य बालीतर्फ आकर्षित हुन थालेका हुन् ।

टेम्केमैयुङ गाउँपालिका–६ कोटका किसान रामकुमार राईका अनुसार अहिले कोदो खेती घरायसी प्रयोजनमा सीमित हुँदै गएको छ । कोदो खेती गर्न अन्य बालीको तुलनामा बढी मेहनत गर्नुपर्छ तर आम्दानी भने कम हुन्छ । त्यसैले किसानले बिस्तारै यो बाली छाड्दै गएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका किसान रुपनारायण फुयाँलले पनि पहिलेको तुलनामा कोदो खेती निकै घटेको बताए । स्थानीय बजारमा कोदो प्रतिकिलो रु १४० देखि १७० सम्ममा बिक्री हुने गरेको छ । तर मूल्य राम्रो भए पनि उत्पादन र बजारको निश्चितता नहुँदा किसानले यसलाई व्यावसायिक बालीका रूपमा लिन सकेका छैनन् । किसानका अनुसार कोदोको प्रयोग परम्परागत खानाभन्दा जाँड, रक्सी बनाउन बढी हुने गरेको छ ।

कोदो पौष्टिक अन्नका रूपमा चिनिन्छ । यसबाट ढिँडो, रोटी, सातु, लिटोलगायत विभिन्न परिकार बनाउन सकिन्छ । विशेष गरी चिसो मौसममा कोदोको खोले स्वास्थ्यका लागि उपयोगी मानिन्छ । तर आधुनिक खानपानको बढ्दो प्रभावसँगै कोदो खाने चलन पनि घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको