काठमाडौँ, २४ साउन । झापाको बिर्तामोड नगरपालिका–२, बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–४, भामटोली बस्ने ३५ वर्षीया सुखी बिवी छन् । दुर्घटनामा घाइते भएका उनकाे उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो ।
बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक तयामुल हकसहित अटोमा सवार चारजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






