काठमाडौँ, ११ साउन । मोरङमा एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार गएको साउन ३ गते बिहान मोरङ सुनबर्षी नगरपालिकाकी एक बालिकालाई सिटी चालक १८ वर्षका मोहम्मद अरमानले ललाइफकाइ रंगेली नगरपालिका–०३ स्थित युमी क्याफेमा पुर्याएका थिए ।
यसैगरी, साउन ४ गते राति अन्दाजी २१:०० बजेको समयमा पीडित बालिकालाई रंगेली नगरपालिका–०७ का २० वर्षका करण मण्डलले रंगेली–०७ स्थित संसारी मन्दिर नजिकै रहेको ‘द नाइन्टीज’ क्याफेमा लगेका थिए । त्यहाँ मण्डलसहित १८ वर्षका प्रियान्सु साह र १८ वर्षका रितिक यादवले सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको छ ।
घटनाबारे उजुरी परेपछि साउन १० गते दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा रंगेली–०३ आमतोला बस्ने १८ वर्षका मोहम्मद अरमान, सुनबर्षी–०९ बस्ने २१ वर्षका सुमन कुमार साह, रंगेली–०७ हर्दी टोल बस्ने २० वर्षका करण मण्डल, रंगेली–०७ बस्ने १८ वर्षका प्रियान्सु साह र रंगेली–०६ बस्ने १८ वर्षका रितिक यादव रहेका छन् ।






