काठमाडौँ, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राई सहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुवातमै ५ लाख रुपैयाँ घुस मागेका थिए । घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात पेस गराइएको आरोप छ।
घुस बुझ्ने योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म प्रतिक्षामा राखिएको थियो । साँझ ६:५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका थिए । त्यसपछि पुनः सम्पर्क गर्दै सोही दिन नभई भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको नम्बर पठाएका थिए।
बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन आग्रह गरेपछि अन्ततः पालले रकम कार्यालयमै ल्याउन भनेका थिए। कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको छ ।






