कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण

नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ ।

साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोह केवल पुस्तक विमोचनको औपचारिक कार्यक्रममा सीमित रहेन, बरु समकालीन नेपाली साहित्यको भावधारामाथि गम्भीर विमर्श र संवेदनशील संवादको सशक्त मञ्चका रूपमा स्थापित भएको थियो । सभाहलमा उपस्थित साहित्यकार, राजनीतिज्ञ, इतिहासविद्, गीतकार, कलाकार तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको थियो ।

कार्यक्रमका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली रहेका थिए भने प्रमुख अतिथि सांसद राजीव खत्री रहेका थिए । समारोहमा पूर्वसांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, पूर्वअध्यक्ष चूडामणि देवकोटा, खनाल सेवा समाजका महासचिव माधव खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय सदस्य तारा उप्रेति, मिलापका अध्यक्ष कृष्ण भुसाल तथा नरेश भट्टराईलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

डा. उपाध्यायले यस कृतिमार्फत समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, संघर्ष, आशा, आत्मसंवाद तथा जीवनका सूक्ष्म अनुभूतिहरूलाई कलात्मक र संवेदनशील ढंगले प्रस्तुत गरेका छन् । कविताहरू केवल भावनाको अभिव्यक्ति नभई समाज र समयसँगको गहिरो संवादका रूपमा प्रस्तुत भएको उनीहरूको धारणा थियो ।

प्रमुख अतिथि सांसद राजीव खत्रीले डा. उपाध्याय नेपाली साहित्य, संगीत र सिर्जनात्मक क्षेत्रका अथक साधक भएको उल्लेख गरे । उनले भने, “डा. उपाध्यायको लेखन केवल शब्दहरूको संयोजन होइन, समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको गहिरो अभिव्यक्ति हो ।”

वक्ताहरूले डा. उपाध्यायको बहुआयामिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । १५३ विश्व कीर्तिमान कायम गरेर उनले नेपालको सिर्जनात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको उल्लेख गर्दै उनलाई नेपाली सर्जनात्मक क्षेत्रको ऊर्जाशील, अनुकरणीय र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको थियो । डा. उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, करिब २५० गीत र १५० भन्दा बढी गीतका भिडियो सार्वजनिक भएका छन् । उहाँले गीतसंगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।