एजेन्सी, २३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले आफूले अझै ८–९ वर्षपछि मात्र पद छोड्ने बताएका हुन् ।
उनको यो भनाइ सुनेर कार्यक्रममा उपस्थित मानिसहरू हाँस्न थालेका थिए । त्यसपछि ट्रम्पले भने, “म ठट्टा गरिरहेको छैन । मलाई काम गर्न मन पर्छ । अहिले त मेरो कार्यकालको सुरुआत मात्र हो र अझै धेरै काम गर्न बाँकी छ ।”
आउँदो महिना ८० वर्ष पुग्न लागेका ट्रम्पले आफ्नो उमेरबारे पनि मजाक गरेका थिए । उनले भने, “म वृद्ध भएको छैन । म धेरै जवान महसुस गर्छु । आज पनि मलाई ५० वर्षअघिजस्तै ऊर्जा भएको अनुभव हुन्छ ।”
यसअघि पनि ट्रम्पले पटक–पटक तेस्रो कार्यकालका लागि संकेत दिँदै आएका छन् । रिपब्लिकन सांसद एन्डी ओगल्सले २३ जनवरी २०२५ मा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा एउटा विधेयक दर्ता गरेका थिए । उक्त प्रस्तावको उद्देश्य अमेरिकी संविधान संशोधन गरी ट्रम्पलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खोल्नु थियो ।
प्रस्तावमा लगातार दुई कार्यकाल पूरा नगरेको व्यक्तिले तेस्रोपटक चुनाव लड्न पाउने व्यवस्था राखिएको थियो । ट्रम्पले सन् २०२० को चुनाव हारेकाले यस्तो संशोधन भएमा उनी पुनः उमेदवार बन्न योग्य हुन सक्थे ।
तर, उक्त विधेयक अघि बढ्न सकेन र मतदानसम्म पनि पुग्न पाएन । अमेरिकामा संविधान संशोधन गर्न निकै कठिन मानिन्छ । यसका लागि हाउस र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ । हाल रिपब्लिकन पार्टीसँग त्यति बहुमत छैन ।
यसका साथै ५० मध्ये कम्तीमा ३८ राज्यको समर्थन पनि आवश्यक हुन्छ । अहिले धेरै राज्यमा डेमोक्र्याट पार्टीको सरकार भएकाले यस्तो प्रस्ताव पारित हुने सम्भावना निकै कम मानिन्छ ।
अमेरिकामा सुरुमा कुनै व्यक्ति कतिपटक राष्ट्रपति बन्न पाउने भन्ने स्पष्ट संवैधानिक व्यवस्था थिएन । सन् १९५१ मा संविधानको २२औँ संशोधनमार्फत कुनै पनि व्यक्ति दुईपटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने नियम लागु गरिएको थियो ।






