काठमाडौँ, १८ फागुन । नेपाली फिल्म र संगीतका लोकप्रिय सर्जक प्रशान्त तामाङको सम्मानमा दार्जिलिङको मुटु मानिने चौरास्तामा शालिक स्थापना गरिने भएको छ ।
तामाङको निधनको ५० दिन पुगेको सन्दर्भमा आइतबार सिलिगुडीमा आयोजित भेटमा जीटीए प्रमुख अनित थापाले परिवारलाई उक्त आश्वासन दिएका हुन् ।
उक्त भेटमा प्रशान्तकी श्रीमती मार्था आले, छोरी र दिदी अनुपमा उपस्थित थिए । भेटमा थापाले दार्जिलिङका गौरव तामाङको सम्झनालाई सदैव जीवित राख्न चौरास्तामा उनको पूर्ण कदको शालिक स्थापना गरिने बताएका हुन् ।
प्रशान्तले दार्जिलिङको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलेको भूमिकालाई स्मरण गर्दै यो निर्णय ऐतिहासिक र भावनात्मक दुवै रूपमा महत्वपूर्ण रहेको थापाले बताए ।






