एजेन्सी, १ माघ । संयुक्त राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले इजरायली सेनाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै संस्थाद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा छापा मारेको जानकारी दिएका छन् ।
लाजारिनीका अनुसार इजरायली सुरक्षा बल पूर्वी जेरुसेलममा रहेको युएनआरडब्लुए र संयुक्त राष्ट्रसङ्घको परिसरभित्र प्रवेश गरी त्यहाँ सञ्चालित स्वास्थ्य केन्द्र बन्द गर्न आदेश दिएको हो ।
इजरायली सेनाको यो कदमले प्यालेस्टिनी शरणार्थीहरूलाई प्राथमिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित गरेको छ। सेनाले ती स्वास्थ्य केन्द्रहरूलाई आगामी ३० दिनका लागि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । यसका साथै आगामी हप्तादेखि युएनआरडब्लुएले उपलब्ध गराउँदै आएका सुविधाहरूमा पानी र बिजुलीको आपूर्ति समेत कटौती गरिने सूचना जारी गरिएको लाजारिनीले सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन् ।
यो कदम इजरायली संसदले गत डिसेम्बरमा पारित गरेको प्यालेस्टिनी शरणार्थी विरोधी कानूनको प्रत्यक्ष परिणाम भएको जनाइएको छ। उक्त कानूनले सन् २०२४ मा अपनाइएका युएनआरडब्लुए विरोधी प्रावधानहरूलाई थप प्रश्रय दिएको लाजारिनीको भनाइ छ।






