काठमाडौँ, १ माघ । नगद कारोबारमा आजदेखि ५ लाखको सीमा कायम भएको छ ।
मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो ।
यो व्यवस्था लागू भएसँगै अबदेखि कुनै पनि व्यक्तिले एक पटकमा बैंकमा गएर ५ लाख रुपैयाँ भन्दा बढी नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिदबिक्री गर्दा पनि सो सीमाभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन ।
नेपाल अहिले सम्पत्ति शुद्धीकरणको ग्रेलिस्टमा छ । धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्दै यो निर्णय गरिएको हो । यो निर्णयले डिजिटल तथा अनलाइन कारोबारलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।






