काठमाडौँ, १ माघ । चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार पुस ३० गतेसम्म सो बराबर राजस्व संकलन भएको हो । यो सङ्कलन सरकारको अर्धवार्षिक लक्ष्यको तुलनामा ८१.७५ प्रतिशत हो । सरकारले पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यो अवधिमा संकलित राजस्व रकम लक्ष्यको तुलनामा करिब १ खर्ब ३० अर्ब रुपैयाँ कम भएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य सरकारको छ । हालसम्म संकलित राजस्व वार्षिक लक्ष्यको करिब ३९ प्रतिशत हो । पौष महिनाको अवधिमा मात्रै सरकारले १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ सङ्कलन गरेको छ । यो महिनामा १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको तुलनामा राजस्व संकलन ८९.९६ प्रतिशत हो । पौष ३० गते मात्रै सरकारी खातामा २० अर्ब २६ करोड रुपैयाँ राजस्व दाखिला भएको देखिन्छ ।
गत वर्ष पुस मसान्तसम्म सरकारले ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो । गत वर्षको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेकोमा पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ तोकिएको थियो ।
गत वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो । यससँग तुलना गर्दा गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुस महिनामा राजस्व सङ्कलन १० अर्ब रुपैयाँले बढेको देखिन्छ भने ६ महिनाको समग्र सङ्कलनमा पनि १४ अर्ब रुपैयाँभन्दा बढीको सुधार देखिएको छ ।






