काठमाडौँ, २१ पौष । डेजर्ट भाइपर्सले यूएईमा सम्पन्न इन्टरनेशनल लिग टी-२० क्रिकेटको उपाधि जितेको छ ।
गएराति भएको फाइनलमा एमआई इमिरेट्सलाई ४६ रनले हराउँदै भाइपर्सले पहिलोपटक उपाधि जितेको हो ।
भाइपर्सले दिएको १८३ रनको लक्ष्य पछ्याएको एमआई १८.३ ओभरमा १३६ रनमा अलआउट भयो । शाकिब अल हसनले सर्वाधिक ३६ रन बनाए भने कप्तान कायरन पोलार्डले २८ रन बनाए ।
भाइपर्सका लागि डेभिड पेन र नसीम शाहले ३-३ विकेट लिए भने खुजेमा तनभीर र उसमान तारिकले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डेजर्टले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । कप्तान साम करानले अविजित ७४ रन बनाए भने म्याक्स होल्डेनले ४१ रन बनाए ।
एमआईका फजलहक फारुकीले २ विकेट लिँदा अरब गुलले १ विकेट लिए।






