प्रधानमन्त्री कार्कीद्वारा विदेशस्थित नेपाली नियोगका प्रमुखलाई ५ बुँदे निर्देशन

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विदेशस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै ५ बुँदेनिर्देशन दिएकी छन् ।

१. पहिलो, नेपालमा भएको यति ठुलो आन्दोलन, परिवर्तनका लागि नागरिकको चाहना र अन्तरिम सरकारको प्राथमिकताका बारेमा यहाँहरू कार्यरत र सहप्रमाणिकृत मुलुकका सरकारी निकायलगायतका सबै सरोकारवालाहरूलाई जानकारी गराउन आवश्यक देखिएको छ ।

२. दोस्रो हो ५ मार्च २०२५ मा हुने आमनिर्वाचन लोकतन्त्रको मुख्य आधार नै स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन हो। यस विषयमा वर्तमान सरकार दृढ र प्रतिबद्ध छ । यहाँहरूको कार्यक्षेत्रका सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था र साझेदारहरूसँग यस विषयमा जानकारी र आवश्यक समन्वय जरुरी छ । कुनै मित्रराष्ट्रबाट खास प्राविधिक लगायत अन्य सहयोग लिनुपर्ने अवस्थामा हामीले छुट्टै र छिट्टै यहाँहरूलाई जानकारी गराउने छौँ । यसबाहेक निर्वाचनताका अन्तर्राष्ट्रिय प्रचलन अनुरूप गरिने निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा पनि निर्वाचन आयोगले आवश्यक तयारी सुरु गरेको छ । यी विषयमा सम्बन्धितसँग सम्पर्क र समन्वयमा बस्नुपर्ने हुन्छ । विदेशमा अस्थायी रूपमा रहेका नेपाली नागरिकहरूले निर्वाचनमा मतदान गर्न पाउने विषयमा गृहकार्य भइरहेको छ । उनीहरूलाई कसरी निर्वाचनमा सहभागी गराउन सकिन्छ भन्नेबारेमा सूचना सङ्कलन तथा सुझावको अपेक्षा गरेका छौँ ।

३. तेस्रो, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ । यस प्रकारको आधिकारिक कोष सञ्चालनबाट स्रोतको सही, पारदर्शी र समुचित उपयोग हुने र समानान्तर र अपारदर्शी ढङ्गको स्रोत सङ्कलन र दुरुपयोग हुन नदिने उद्देश्य राखिएको छ । सबै नियोगहरूलाई बैङ्क खाता नम्बर सहितको जानकारी उपलब्ध गराइसकिएको छ । यस विषयमा नियोगहरूबाट प्रचारप्रसार आवश्यक छ ।

४. चौथो, आन्दोलनपश्चात् नेपालको पर्यटन क्षेत्रमा आघात परेको छ । पर्यटनको उच्च सिजनको महिना अक्टोबरमा पूरा क्षमताको ७० प्रतिशतको हाराहारी हुनुपर्ने होटल बुकिङहरू हाल ३० प्रतिशतको हाराहारीमा झरेको छ । यस सम्बन्धमा हाल नेपालमा परिस्थिति सामान्य भइसकेको र पर्यटन, व्यापार, लगानीलगायतका आर्थिक गतिविधिहरू पूर्ववत् रूपमा सञ्चालनमा आइसकेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन अत्यावश्यक भएको छ ।

साथै, आन्दोलनका क्रममा कुनै पनि विदेशी पर्यटकलाई लक्षित नगरिएको र बरु उनीहरूलाई सहयोग गरिएको दृष्टान्तहरूबाट असहज परिस्थितिमा पनि अतिथि देवो भवः को विशिष्ट नेपाली संस्कृति प्रदर्शन भएको विषय पनि स्मरणीय छ ।

५. पाँचौँ, हाल लाखौँ नेपाली नागरिकहरू कामका सिलसिलामा विदेशमा रहेको विषय मैले अघि नै उल्लेख गरिसकेको छु । विदेश जाने क्रम बढेसँगै त्यहाँ रहेका नेपालीहरूसँग सम्बन्धित कामहरू बढेका छन् । उनीहरूलाई आवश्यक सेवा प्रवाह प्रभावकारी बनाउनु र उनीहरूको सम्मान, मर्यादा र हकहितको सुरक्षा गर्नु अत्यावश्यक छ । हाल सयौँ नेपालीहरू विदेशी जेलमा छन्, सयौँको ज्यान गुमेको अवस्था छ । क्षतिपूर्तिका लागि परिवारहरू भौतारिरहेको दुःखद अवस्था रहेको छ । विदेशमा रहेका नेपालीहरू र नेपालमा रहेका उनीहरूका परिवारले मन्त्रालय र अन्तर्गतका विभागहरू र नियोगहरूबाट चुस्त, पारदर्शी र प्रभावकारी सेवा प्रवाहको अपेक्षा राखेका छन् । जेनजी आन्दोलनपश्चात् कुशल, तटस्थ, पारदर्शी, उत्तरदायी, निष्पक्ष, प्रविधिमैत्री र प्रभावकारी सेवा प्रवाह र कार्यसम्पादनमा सबैको अपेक्षा बढेको छ । हामी सार्वजनिक र कानुनी उत्तरदायित्वबाट पन्छिन मिल्ने अवस्था छैन ।

विदेशमा अन्य सेवाका अतिरिक्त उद्धार, शव झिकाउने, क्षतिपूर्ति लगायतका कन्सुलर सेवाहरू स्थानीय स्तरमै सबैले घरबाटै सहजै प्रयोग गर्न सकिने गरी अनलाइन प्रणालीको विकास गरिएको परिप्रेक्ष्यमा यसको उच्चतम प्रयोगका लागि प्रचारप्रसार र सचेतना  बढाउनुपर्ने आवश्यकता छ । तसर्थ, यी लगायतका विषयको उचित सम्बोधन, समन्वय र नियमित प्रतिवेदनका लागि नियोग प्रमुखहरूले आवश्यक प्रबन्ध मिलाउनुहोला ।

समस्याहरू अरू पनि छन् । भिजिट भिसाको दुरुपयोगबाट उत्पन्न समस्या लगायत अन्य निकायसँग समन्वय गर्नुपर्ने विषयमा मन्त्रालय र विभागहरू सक्रिय छन् । रोजगारीको सिलसिलामा विदेश जाने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बिचौलियाको शोषणबाट बचाउन आवश्यक सबै उपाय अवलम्बन गर्नुपर्दछ । यस विषयमा नियोगहरूबाट पनि ठोस सुझावको अपेक्षा गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर