काठमाडौँ, १८ साउन । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई निर्देशन दिएका छन् ।
आज सीआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनै कसर बाँकी नराख्न सीआइबीलाई निर्देशन दिएका छन् ।
‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु ।’ गृहमन्त्री लेखकले भने– ‘नेपाल प्रहरीभित्र पनि सीआइबी प्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’
सीमित स्रोत साधनका बिच प्रहरीमा सीआइबीले कार्य सम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआइबीलाई साधन स्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।






