मार्च २१, विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस — अन्तर्राष्ट्रिय विभेद उन्मुलन दिवस । रङ्गभेद विरोधी आन्दोलन चलिरहेको दक्षिण अफ्रिकामा सन् १९५९ मा ७९ जना आन्दोलनकारीहरूलाई त्यहाँको औपनिवेशिक गोरा शासकहरूले हत्या गरेका थिए । हत्याको सम्झनामा यो दिवस मनाउन सुरू गरिएको हो ।
संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा ‘सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी’ पारित गरेपछि प्रत्येक वर्ष २१ मार्चलाई यस दिवसका रूपमा मनाइँदै आएको छ । सन् १९७१ मा नेपालले पनि यस सन्धिलाई अनुमोदन गरिसकेको छ । यसको पृष्ठभूमि हेर्दा यो आन्दोलनको रङ्गभेद विरोधी थियो ।
त्यहाँ सोझै गोराका विरुद्ध कालाजातिको अत्याचारको विषयकेन्द्रित नहुनु आफैमा खुला रूपमा बुझ्न सकिने गोप्य रहस्य (Open Secret) छ । हामीले विभेदविरुद्ध आन्दोलनको समर्थन र सम्मान गर्दा होस् या आफ्नै आन्दोलन अघि बढाइरहँदा होस्, यसतर्फ हेक्का राख्नु पनि उत्तिकै आवश्यक छ । विश्व सर्वजन संघ (वि.स.१९९७) का संस्थापक भगत सर्वजित विश्वकर्माले बनारसमा संस्कृतमा आचार्यसम्म पढ्नुभएको थियो भन्ने पढ्न पाइन्छ । यस क्रममा उहाँले वेद, पुराण, उपनिषद्को अध्ययन गर्नुभएको थियो । उहाँले धर्मको विरोध गर्नुभएन, बरु आफैले जनै लगाउनुभयो । छोराको नामकरण वैदिक रीतिले गराउनुभयो । उहाँले आफूलाई कहिल्यै दलित (शूद्र) स्वीकार गर्नुभएन । भगत सर्वजितले समाजमा रहेको जातीय र शासकीय कठिनाइहरूसँग जुझ्दै सामाजिक आन्दोलनलाई अघि बढाएको विषय सगौरव पढ्न पाइन्छ ।
‘हिन्दु ग्रन्थमा विश्वकर्मा भनेको शिल्पी ब्राह्मण हो’ भन्ने सर्वजितले बालीघरे प्रथाका विरुद्धमा संघर्ष गरेर बालीका सट्टा नगद लिने पद्धति स्थापित गर्न भूमिका खेलेको प्रसङ्ग छ । अहिले यी विषय सामान्य लाग्न सक्छ, तर वि.स.२००७ अघि यस्तो गर्नु चानचुने विषय थिएन ।