भक्तपुर, १५ असोज । विकास संरक्षण तथा प्रवद्र्धन अभियानले आयोजना गरेको खेलमैदान उद्घाटन तथा बास्केटबल प्रतियोगिता सरेको छ ।
केही दिन अघि आएको अविरल वर्षाका कारण देशभर आएको बाढी, पहिरो तथा भूक्षणका कारण मानवीय तथा अन्य भौतिक क्षती भएर देश नै दुःखको घडिमा रहेकाले उक्त प्रतियोगिता सरेको अभियानका संयोजक दिनेश थापाले जानकारी दिनुभयो । उक्त प्रतियोगिता र खेलमैदान उद्घाटन कार्तिक १० गते हुने उहाँले जानकारी गराउनुभयो । नेपालीहरुको महान् पर्व विजया दशमी, दिपावली छठ लगायतका चाडपर्वहरुको उपलक्षमा भक्तपुर र काभ्रे जिल्ला केन्द्रीत रहेर बास्केटवल प्रतियोगिता आयोजना गरिएको थियो । खेलकुदलाई विकास र समृद्धिसँग जोड्दै युवालाई प्रोत्साहन र उर्जा थप्ने उद्देश्य प्रतियोगिताको रहेको संयोजक थापाले बताउनुभयो ।
बाढी पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतीका कारण विपत्तिबाट दुखेको घाउलाई मलम लगाउने लक्ष्यका साथ असोज १९ गते गुण्डु चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दुःख र विपद्लाई शक्तिमा रुपान्तरण गर्न अहिलेको आवश्यकता रहेको औंल्याउँदै संयोजक थापाले अभियानकर्ता सम्पूर्ण सदस्यहरु राहत, उद्धार, पुनः निर्माण, स्वास्थ्योपचार लगायतका कार्यहरुमा खट्न अपिल गर्नुभयो । जहाँ समस्या, त्यही समाधान गरी जनतालाई दुःखको सारथी बन्नुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुरमा रगतको अभाव हुन नदिन रक्तदानमा सहभागि हुन अपिल गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘यति बेला हाम्रो देश विपतको घडीमा गुज्रिरहेको छ । यो विपतमा हामी सबैले आ(आफ्नो तर्फबाट सक्ने सहयोगको लागि अगाडि बढ्न जरुरी छ । त्यसैले विकास संरक्षण तथा प्रवर्धन अभियानले यही मिति असोज १९ गते शनिवारको दिन राखेको बास्केटबल टुर्नामेन्ट सहितको खलमैदान उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम राष्ट्रिय विपतको कारण यहीँ आउँदो कार्तिक १० गतेको लागि सारेका छौं । साथै असोज १९ गते गुण्डु चोकमा विकास संरक्षण तथा प्रवर्धन अभियानले बृहत रक्तदान कार्यक्रम गरी यस विपत् को घडीमा रहेको रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यका साथ सम्पूर्ण रक्तदाताहरूलाई रक्तदान गर्नको लागि हार्दिक आह्वान गर्दछौं ।’