काठमाडौँ, ८ असोज । म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ ।
विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाका साथै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए । उनका अनुसार पालिकाले विपन्न नागरिकका लागि ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ ।
यस वर्ष गाउँपालिकाले नौ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमबाट चार हजार पाँच सय जना लाभान्वित हुने पालिकाले जनाएको छ । वडा कार्यालयबाट अहिले विपन्न नागरिकको विवरण सङ्कलन भइरहेको छ ।