काठमाडौँ, २९ भदौ । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।
अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको हो । जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेङ्गी सङ्क्रमित एक सय एक बिरामी भेटिएका छन् ।
अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लिनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताए । जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब टाइफसको निजी अस्पताल र क्लिनिकमा रु एक हजारदेखि रु एक हजार दुई सयसम्म तिर्नुपर्ने बाध्यता छ ।
स्क्रब टाइफस परीक्षण गर्ने किट उपलब्ध गराउन कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा माग गरिएको बताउँदै सूचना अधिकारी खत्रीले हालसम्म किट नआएकाले बिरामीलाई निजी अस्पताल पठाउने गरिएको बताए । अस्पतालले पटक पटक आग्रह गर्दा पनि स्वास्थ्य मन्त्रालयबाट किट पठाउने विषयमा हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।







