देशभर चिकित्सक पठाउँदै जुम्ला

काठमाडौँ, ८ भदौ । जुम्लाले अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्यविज्ञ जनशक्ति पठाउँदैछ ।

मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ । 

यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ । दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको समुपस्थिति कार्यक्रम रहेको उपकुलपति डा.मङ्गल रावलले जानकारी दिनुभयो ।

स्थापनाकालको १३ वर्षपछि पहिलोपटक हुन थालेको दीक्षान्त समारोह सञ्चालनका लागि कुलपति एवम् प्रधानमन्त्रीबाट स्वीकृति पत्र आइसकेकाले त्यसको तयारीमा जुटेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन् ।

उपकुलपति रावलले भन्नुभयो, ‘प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतवार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोहीअनुसार तयारी गर्दैछौँ ।’ कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।

प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् । 

दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक बिल्डिङ) र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताउनुभयो । समारोहमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ ।

सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.अञ्जनी झा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा.सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार