काठमाडौँ, १५ वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन् ।
विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्का परेको बताएका छन् । अस्पतालको एआरभी विभागमा कुकुर बिरालोले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् ।
भेरी अस्पतालका एआरभी विभागका सिनियर अहेब कृष्णबहादुर बुढाथोकीका अनुसार गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको छ । कुकरले टोकेपछि तीनवटा रेबिजिविरुद्धको खोप लगाउनुपर्ने उनले बताए । अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।






