आगामी बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्छु: मन्त्री भण्डारी

काठमाडौँ, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले यसअघि सुदूपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभएको हो । सुदूरपश्चिममा समृद्धिका लागि अपार सम्भावना भए पनि तुलनात्मकरुपमा पिछडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका कारणको खोजी गरी समाधानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतमा यस क्षेत्रको बजेट ६/७ प्रतिशतभन्दा बढी हुन सकेन, आगामी आवमा बजेटको क्षेत्रीय सन्तुलनका लागि पहल गर्नेछु ।” सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारी कम हुँदा न्यून आम्दानीका लागि पनि भारत जार्नुपर्ने बाध्यता हटाउन आफ्नो मन्त्रालयबाट आगामी आवमा सातै जिल्लाका सम्भावना खोजी गर्ने र यस क्षेत्रका ठूला आयोजना लागू गर्न पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो । मन्त्री भण्डारीले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आफूले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा मञ्चका संस्थापक एवं संरक्षक मोतिलाल बोहराले संस्था स्थापनाको उद्देश्य र त्यसयता सुदूरपश्चिम क्षेत्रको पहिचान र विकासका लागि भएका उपलब्धि तथा पहलबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले देशभर छरिएर रहेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिले आफ्नो थातथलोको समृद्धिका लागि आवश्यक योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले मञ्चले गरेका कामकारबाहीबारे जानकारी गराउँदै सुपको विकास निर्माणका साथै सामाजिक कार्यमा हातेमालो गर्दै बहस पैरवी गर्दै आएको बताउनुभयो । साथै उहाँले सुपको विकासका लागि आवश्यक बृहत् परियोजना निर्माण गर्न आगामी बजेटमा आवश्यक रकम विनियोजनका लागि मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा इञ्जिनियर शेरसिंह भाटले ऊर्जा तथा विद्युत् प्रसारण लाइन सम्बन्धमा, जनकराज जोशीले भूमि व्यवस्था तथा भू–उपयोग सम्बन्धमा, डा राजेन्द्र मिश्रले कृषि तथा सिँचाइ सम्बन्धमा र इञ्जिनियर ललिजन खनालले सडक तथा यातायात सम्बन्धमा प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्