भक्तपुर, १५ चैत । काठमाडौँ मेडिकल कलेजले चाँगुनारायण नगरपालिका वडा नं.२ मा सञ्चालित दुवाकोट स्वास्थ्य चौकी मार्फत नि:शुल्क बहिरंग स्वास्थ्य तथा उपचार सेवा प्रदान गर्ने भएको छ ।
सो सेवा प्रदान गर्न सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेडिकल कलेजले आगामी ०८१ वैशाख १ गतेदेखि लागु गर्ने गरि दुवाकोट स्वास्थ्य चौकीका प्रतिनिधिको रोहोवरमा मेडिकल कलेज र वडा नं.२ विच वडा कार्यालय प्राङ्गणमा द्विपक्षीय सम्झौता गरिएको हो ।
कलेजको तर्फबाट महाप्रबन्धक तुलसी बहादुर कार्की र वडा नं.२ बाट वडाध्यक्ष सोमप्रसाद प्रधानद्वारा स्वास्थ्य चौकी प्रमुख राजन खड्काको रोहोवरमा हस्ताक्षरित १३ बुँदे सम्झौता पत्रमा हेल्थपोष्टमा कम्तीमा ३ दिन नि:शुल्क बहिरंग सेवा, आर्थिक विपन्नहरुको स्वास्थ्य उपचारको हकमा वडाको सिफारिसमा शतप्रतिसत छुटको व्यवस्था, विशेषज्ञ सेवा अन्तर्गत प्रसुती तथा स्त्री रोग, बालरोग, हाडजोर्नी तथा नशा रोगलगायत विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने विषयहरु समेटिएको जनप्रतिनिधि प्रेम खत्रीले जानकारी गराएका छन् ।
दुई संस्थाविच भएको सम्झौता पत्र तयारीमा मेडिकल कलेजका प्रबन्धक नारायण दाहाल, रोशन लुईटेल र भिम बहादुर चन्द, पुर्ववडा अध्यक्ष शिवहरी केसी तथा स्थानीय समाजसेवी नबराज काफ्लेको समेत उपस्थिति रहेको थियो ।