काठमाडौँ, १० चैत । हिमालयन उद्धार संघले आन्तरिक तथा बाह्र पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ ।
वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको संघले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो ।
हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटकको उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाएको संघले जनाएको छ ।
हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरेको हो । सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई दुई विदेशी चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्नेछन् । उक्त टोलीमा संघका कर्मचारी समेत खटिएका छन् ।







