पृथ्वी नारायण शाहलाई राजा मात्र मान्नु भन्दा त्यस भन्दा माथिका राष्ट्र निर्माता मानी सम्मान गर्नु पर्दछ । उनी जर्मनीका विस्मार्क, टर्कीका आटाटर्क, चीनका सनयात सेन, साउथ अमेरिकाका सिमोन वोलीभार, प्राचीन भारतका सम्राट अशोक जस्तै राष्ट्र निर्माता हुन् । गोरखाका राजा पृथ्वी नारायण शाहले तत्कालीन नेपालमाथि विजय गरेपछि नेपाललाई नै राज्य मानी यहांका नेवारहरू कै कुल देवता मानि त्यसकै संरक्षण गरि राज्य चलाउने व्यबस्था गरेको पाईन्छ । गोरखाका शाह बंशीय राजाहरूका कुल देवता स्यांजाको आलमदेवी हुन् जहाँ मगर पूजारी छन् भने सुंगुरको भोग दिइन्छ । गोरखनाथ त संरंक्षक वा शक्तिपीठ मात्र हुन् । झण्डै ३०० बर्ष अघि पनि अरूको राज्यमाथि विजय हासिल गरेपछि पनि बिरोधिका सालिक ढालेनन् उल्टै सुनको जलप लगाई संरक्षण गरेबाट पनि राज्य विस्तार नभै एकीकरण नै भएको पुष्टी हुन्छ । आक्रमण अघि कतिपय ठाउमा एकिरणमा आउन वा युद्दकालागि तयारी हुन पत्राचार भएको पाइन्छ ।
नेपाली भेषको कुरा गर्दा तत्कालीन लबेदा सुरूवालमा नेवारी, तामाड़, मगर, गुरूड़, राई, लिम्बू, मैथिली सबैको मिश्रणबाट अहिलेको राष्टिय पोषाक बनेको देखिन्छ । साथै नेपाली खानाको कुरा गर्दा दाल, भात, गुन्द्रुक, ढिडो, तरकारी र अचार पनि एउटै जाति बिशेसका नभै विभिन्न जनजातिको खानाहरू मिसाएर बनाइएको देखिन्छ । त्यस्तै भाषाको कुरा गर्दा नेपाली भाषाको जननी भनिने डोटेल र सिंजाली भाषा हामी सबै नेपालीले बुझ्दैनौ । त्यसमा संकृति, मैथिली, भोजपुरी, नेवारी, किरात र लिम्बू लगायतका अन्य भाषा मिलि अहिलेको समृद्ध र साझा भाषा बनेको हो । हामीले यहि माध्यमबाट यस भाषाको प्रशंसा तथा आलोलना गर्न पाएका छौं ।
हामीले जे कुरालाई पनि दोषी चस्माबाट हेरि हाम्रा साझा भेषभूषा, भाषा, खाना जस्ता साझा पहिचान माथि आक्रमण नगरौ । सकारात्मक सोचकासाथ अघि बढौ । राष्टिय एकतालाई थप मज़बूत बनाऔं ।
तेजबहादुर ढकाल
काठमाडौँ