हेटौँडा अस्पतालद्वारा मिर्गौला रोगीलाई नियमित डायलाइसिस सेवा

मकवानपुर, ७ पौष । मकवानपुरको हेटौँडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला रोगीले दैनिक आलोपालो गरी डायलाइयसिस सेवा लिइरहेका छन् । 

हेटौँडा अस्पतालको डायलाइसिस युनिटका इन्चार्ज सीमा कणेलका अनुसार डायलाइसिस सेवा लिनेमा १८ महिला रहेका छन् । मिर्गौला बिरामीले हप्ताको दुईपटक अनिवार्यरुपमा चिकित्सकको परामर्शअनुसार डायलाइसिस सेवा लिइरहेका छन् । उनका अनुसार हेटौँडा अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डायलाइसिस गरिरहेका बिरामीको उपचारमा समस्या भएको कणेल बताउछन् । बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था आए कहाँ लैजाने भन्ने समस्या रहेको उनको भनाइ छ । 

“विषेशज्ञ चिकित्सक नहुँदा मिर्गौलाका बिरामीले समस्या भोग्नु परिरहेको छ ।  अस्पतालका अन्य चिकित्सकलाई देखाउने गरिएको छ”, उनले भने । अहिले डायलाइसिस युनिट कक्षमा १३ डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साझँ गरी तीनपटक प्रत्येक बिरामीलाई आलोपालो डायलाइसिस सेवा दिने गरिएको छ । 

डायलाइसिस युनिटमा सङ्घीय सरकारको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोेटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ प्रतिष्ठान ललितपुरले डायलाइसिस मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा रामचन्द्र सापकोटाले बताए । उनका अनुसार पुराना चारवटा डायलाइसिस मेसिन बिग्रेकाले केही दिनमा प्राविधिक बोलाएर मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने भएको उनले जानकारी दिए । 

मकवानपुरमा मिर्गौला बिरामी चार सयभन्दा बढी पहिचान भएको र उनीहरुले आ–आफ्नो सुविधाअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनका विभिन्न अस्पतालमा डायलाइसिस सेवा लिँदैआएका जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यमणप्रसाद घिमिरेले जानकारी दिए । मिर्गौलाका बिरामीलाई तत्काल डायलाइसिस उपचार सेवा पाउन प्रत्येक स्थानीय निकायबाट अनिवार्य सिफारिस लिनुपर्ने र सोही अनुसार विपन्न नागरिक उपचार सेवा कोषअन्तर्गत निःशुल्क डायलाइसिस उपचार सेवा दिने गरिएको छ । सम्बन्धित अस्पताललाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखामार्फत वार्षिक रकम भुक्तानी दिने गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन समितिका अध्यक्ष राजेश प्रसाईंले हेटौँडा अस्पतालमा विगत एक वर्षअघि सो प्रतिष्ठानले एक  मिर्गौला रोग विशेषज्ञ चिकित्सक दरबन्दी सिर्जना गरी बिरामीको उपचार गर्दैआएकामा हाल सो प्रतिष्ठानमा प्रदेश सरकारबाट बजेट विनियोजित हुँदा उत्तm चिकित्सकको दरबन्दी हटाइएकाले सो चिकित्सकलाई बिदाइ गर्नु परेको र सम्बन्धित निकायमा सो चिकित्सकको दरबन्दी उपलब्ध गराउन माग गरिरहेको बताए । उनले हेटौँडा अस्पताल सञ्चालन समितिद्वारा अब तीन हप्ताभित्रै मिर्गौला रोग विशेषज्ञ चिकित्सकलाई अस्पतालमा उपलब्ध गराउन विज्ञापनद्वारा पदपूर्ति गर्न प्रक्रिया थालेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको