राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय देश दौडाहमा छ । देशको आकाशको तारा नै झार्छु भन्दै सभापति रवि लामिछाने जनताको बिच पुगिरहेका छन् । विकास र समृद्धिको साथमा सुशासन स्थापना गर्छु भन्दै हिडेका छन् । गर्नु त अवश्य नै राम्रो हो तर उनको हविगतबाट हामीलाई बुझ्न बाँकी केही पनि छैन । उनको विगत, वर्तमान र भविष्यको दुरदृष्टि के हो ? भन्ने छर्लङ्ग देख्न सकिन्छ ।
राजनीति के हो ? निती र कुटनीति के हो ? नेतृत्व के हो ? यो प्रश्नको उत्तर देख्दा सामान्य लाग्ला तर गम्भीर भएर सोच्ने हो भने सामान्य अर्थमा बुझे भन्दा सयौं गुणा फरक र वृहत छ । पुराना दलप्रति वितृष्ण पैदा गरेर केही समय त रास्वपाको राजनीति चल्ला तर राजनीतिमा क्षणिक वितृष्णालाई दिर्घकालिन सोच्नु उसैको मुर्खता हो । विगतमा माओवादीले पनि एमाले कांग्रेसप्रति वितृष्णा पोखेर पहिलो पार्टी बनेको हो । तर अहिले एक्लै लड्ने हो भने निर्वाचनमा टर्च लाईट लगाएर खोज्नुपर्ने अवस्थामा पुगेको छ । आफ्नो राजनीति अन्य पार्टीको बैशाखीमा सिमित बनेको छ । त्यो पनि अवको निर्वाचन पछि १० सीट पनि ल्याउन सक्ने अवस्था छैन ।
त्यस्तै रास्वपाले पनि अहिले लहै लहैमा केही जनमत ल्याएको नै छ । तर त्यसको दिर्घकालिन न त लक्ष्य छ, न त सिद्धान्त छ, न त भिजन नै छ । तर पनि हामीले पत्याइदिएका छौं कि सभापति रवि लामिछानेको भाषण र उनका कार्यकर्ताको अभिव्यक्तिलाई । भन्दै छन्, २०८४ को निर्वाचनमा अरुलाई एक सीट पनि जित्न दिने छैनौं । देश चै बन्ने भो है अब । रास्वपाले अहिले चै केही गर्न नसक्ने तर २०८४ आएपछि दुई तिहाइ पाए मुलुकको कायापलट गर्ने भन्दै आएको छ । २०८४ पछि अब स्वभाविक रुपले २०८९, २०९४ कुर्दै जाऔं ।
अहिले तत्काललाई चै यी कामहरुलाई निरन्तरा दिदै जाऔं । जब २०८४ आउँछ नी अनि हेर्नुहोला विकासको मूल कसरी फुट्छ ?
– कृषिलाई बनमा परिणत गरेर आयात गरौं, ढुक्कले खाडी र मलेसियाबाट प्राप्त हुने रेमिट्यान्सले मुलुक चलाऔं । कम्पोष्ट मल उत्पादनलाई हुँदै नहुने मापदण्ड बनाएर निरुत्साहित गरौं, २० अरबको माटो बिगार्ने युरिया मल आयात गरौं, कमिशन पालो फेरिफेरी खाऔं ।
– +२ गर्नासाथ युवा विदेश पठाऔं, आउने रेमिट्यान्सको ठूलो हिस्सा यी भावी विदेशी नागरिकहरुलाई खर्च गरौं । स्वदेशका सबै विश्वविद्यालय सके बन्द गराऔं, कन्सल्टेन्सी व्यवसायको प्रबर्द्वन गरौं ।
– धिमेगतीमा चलेका बचेखुचेका दुई चारवटा सार्वजनिक संस्थान छिटोछिटो बेचौं, निजीकरण गरेर ढुक्क बनौं, आफ्ना नागरिकलाई विदेश पठाएर छिमेकी मुलुकका मित्रहरुलाई रोजगार बनाऔं, सप्लायर्स नियुक्ति गरेर स्वरोजगार बनाऔं ।
– पर्यटकीय स्थलहरुको संरक्षण र प्रवर्द्वन गरियो भने सायद ओरिजिनियालिटी हराउँछ खर्च नगरौं, पर्यटक लिनलाई प्रचारप्रसारमा कुल बजेटको २५ प्रतिशत खर्च गरेर उच्च पदस्थ अधिकारी र मन्त्रीहरुलाई विदेश पठाऔं ।
– आयल निगममा ठूलो हिस्सा बजेट दिएर इन्धन आयात गरौं । उत्पादित हाइड्रोपावर हावामा उडाएर विश्वकृति कायम गरौं । डुबे जनताको बैकमा रहेको लगानी डुब्ने हो हामीलाई के को आपत्ती ? ग्यांसबाट चल्ने, इन्धनबाट चल्ने सबारीसाधनलाई प्राथमिकता दिऔं, इभिलाई पनि दिऔं, १० वर्ष पछि काम नलाग्ने व्याट्री चै सगरमाथाको फेदीमा डम्पिङ गरौं ।
– अदालतलाई बिबादमा ल्याऔं, आफू सरकार भएको बेला आफू नजिकका न्यायमूर्तिहरु नियुक्ति गरौं । ४८ घण्टामा फलानोलाई प्रधानमन्त्री बनाउनु भन्ने आदेश गराऔं र त्यसरी नियुक्त प्रधानमन्त्रीबाट शासन चलाऔं ।
– कलेजमा राजनेताहरु आएर इकाइ गठन गरौं, बन्द हड्ताल गराएर प्रोफेसरलाई कालो मोसो लाएर अलिअली ढाड पनि सोझ्याएर निस्कने प्रोडक्टलाई खाडी पठाउने विशेष व्यवस्था गरौं ।
यति भयो भने रास्वपाले २०८४ मा केही गरेर देखाउने छांटकांट देखियो । रास्वपाका नेता अहिले नै सडकमा दादागिरी, प्रहरी प्रसाशनमाथि हातपात, गैरकानुनी कार्यको नेतृत्व, भ्रष्टाचार र अनियमिततामा डुबुल्की मार्न थालिसकेका छन् । अहिलेलाई भाषणबाट जुरुक्कै उचालेर अघि बढ्ने उसको नीति, पत्याइदिने हामी । जय होस् ।
सम्पादकीय