काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए ।
उनले भने, ‘आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ ।’
डाक्टरहरूमाथि आक्रमणको घटनाको क्रम तोड्न सरकारले मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन हुनुपर्ने थापाको भनाइ छ । ‘घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ । तर, कार्यान्वयन हुँदैन,’ उनले भने, ‘यो चक्र तोड्ने हो भने एकपटक नेपाल सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।’





