साजन सुवेदी
हजुरआमा बिरामी भए पछि आज ४ दिनको गण्डकी हस्पिटलको बसाईको अनुभव अलिक पृथक रहेको छ। हस्पिटलमा बसि राख्दा म कुनै मेला छु जस्तो भान भयो । जस्तो नयाँ वर्षको बेला, लेकसाइडमा एकसाइडबाट हुलका हुल मान्छे आएको आइ आइ, अर्को साइडबाट मान्छे गएको गर्इ । डाक्टरले दुई मिनेट पनि राम्रोसगँ चेक गर्न नभ्याउने अवस्था छ । तिनैलाई भेट्न दुई घण्टा टिकट लिन दुई घण्टा ढोकामा उभिएर बस्न पर्छ गण्डकी हस्पिटल । कहिले पाउँछन्, साधारण मान्छेले उपचार ?
निजी अस्पतालहरु थपिए, हेलिप्याड सहितका अस्पतालहरु बने । मेडिकल कलेज र तिनका शिक्षण अस्पताल पनि बने । तर, सर्वसाधरणको पहुँच बहिरका कुरा हुन् यी । सामान्य आयआर्जन भएकाहरु निजी अस्पतालमा उपचार गर्न सक्दैनन् । आँखा चिम्लेर उपचारमा खर्च गर्न सक्ने नेपालीको संख्या एकदमै न्युन छ । अझै पनि मान्छेलाई स्वास्थको कारण उपचारका गर्न नपाएर मृत्युवर्ण गरेका छन् भने मेरो बुझाइ हो । स्वास्थ क्षेत्र पुरै माफियाको कप्जामा परेछ्को छ । यहि अवस्थामा स्वास्थ क्षेत्र सुधार हुन्छ भने मलाई लाग्दैन ।
आज आम मान्छे सहज र निशुल्क स्वास्थको अपेक्षा छ । पोखराको गण्डकी हस्पिटल यस क्षेत्रको धेरैको रोजाइमा पर्ने हस्पिटल मानिन्छ । वर्तमानको महंगी र प्राइभेट स्वास्थ संस्थाहरुको चरम लापरर्वाहीका कारण मानिसहरुको रोजाइ गण्डकी हस्पिटल बनेको छ । हस्पिटल उपचार र प्रविधिका हिसावले प्राइभेट हस्पिटलभन्दा रत्तिभर कम छैन । बिरामीको रेखदेख र उपचारमा सहयोगी भूमिका खेल्ने डाक्टर र नर्सहरुको समुहले यस क्षेत्रका लाखौं बिरामीहरुको सफल उपचार गरिरहेका छन् ।
सरकारी हस्पिटलमा भरपर्दो उपचार हुँदैन भनेर बिरामीहरुका मानसपटलमा हाउगुजी देखाउने प्राइभेट हस्पिटलहरुलाई स्वास्थ बिमाको मापदण्डले नराम्रोसँग पछि पारेको छ । स्वास्थ बिमा र सर्वसुलभ उपचारका लागि दैनिक सर्वसाधारणको भिड लाग्ने यो हस्पिटलमा हजुरआमाको उपचारमा उपचारार्थ आज ४ दिन बिताएको छ । बिरामीको रोग निको पार्न हरतरहले प्रयत्न गर्ने डाक्टर र नर्सहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । मेरो ४ दिने हस्पिटल बसाइमा यहाँका सेवाप्रवाह, कर्मचारीका कामकार्य, थिति व्यथिती अनि दैनिक जसोका बिरामीका लाइनलाई नजिकबाट नियाल्ने अवसर मिल्यो । हामी हस्पिटलको पहिला आइसीयु तलामा दियौं र पछि मेडिकल कक्षमा सरेर बसेका थियौं ।
पहिलो दिन बिहाना ८ बजे हस्पिटल पुगेका थियौं । हजुरआमा बिहोस् भएर ड्लि राख्नु भएको थियो । हामी आत्तीदैं इमर्जेन्सी कक्ष तिर लग्यौ र डक्डरले भने अनुसार उपचार गर्यौं । स्वास्थ्य बिमाको कार्डको सहायताबाट आमाको उपचार गराइरहेकोले औषधीको लाइनमा बस्यौं । बिमाबाट पाइने औषधि लिएपछि अन्य औषधिहरु बाहिरका मेडिकलबाट लिनुपर्थ्यो । यसरी औषधि लिएर बेडसम्म आइपुग्दा १/२ घण्टा बितिसकेको थियो यो दिन यसरी नै बित्यो । भोलि विहाना डाक्टरले आफ्नो चेक जाँच सकेपछि बिरामीका लागि औषधिहरु लेख्दिन्थ्ये र हामीलाई ती औषधि लिन पठाइन्थ्यो । बिमाका भर्ना बिरामीले औषधि लिने काउन्टर छुट्टै थियो तर औषधि दिने र बिल काट्ने व्यक्ति एउटै हुन्थ्ये । अनि लाइनमा बसेर औषधी लिँदा दिन राम्ररी बित्थ्यो । अझै ओपिडीका बिरामीको कुरा गर्दा दिनमै ७/१० ओटा लाइन बसेर उपचार गराइरहेका हुन्थे ।
त्यहाँ मैले देखेको कुरा, बिरामी भएर हस्पिटल गएका मान्छे सबैभन्दा पहिले टोकनको लाइनमा बस्थे । त्यसपछि नाम दर्ताको लाइन अनि डाक्टरलाई भेट्ने लाइनमा बस्थे । डाक्टर भेटेलगत्तै रगत परिक्षणको लाइन सुरु हुन्थ्यो । चेकजाँचको रिपोर्ट हातमा लिएपछि पुनः डाक्टरको भेटका लागि लाइन बस्नु अनिवार्य थियो । बल्लतल्ल रिपोर्ट बुझाएर रोगको पत्ता लागेपछि डाक्टरले लेख्दिएको औषधि लिनलाई फेरि फार्मेसीको लाइनमा नबसी औषधि पाइदैनथ्यो । बिरामी र बिरामीका आफन्तले खचाखच हस्पिटलमा खुट्टो टेकाउने ठाउँ खोज्न बाहिर चौरमा जानुपर्छ । घण्टौको प्रतीक्षा पछि बहुमुल्य वस्तु भेटे झै कार्डलाई सुम्सुम्याउथ्ये । गण्डकी प्रदेशकै ठूलो अस्पतालमा एउटै बिरामीले यति धेरै लाइन लगाएर सर्वसुलभ उपचारका नाममा लिएको सेवा डरलाग्दो बनेको थियो ।
यसरी घरमा उठ्न नसक्ने बिरामीहरु बढो अनुशासित र संघर्षशिल भएर लाइनमा बसेका बिरामी हेर्दै मेरा पहिलो र दोस्रो दिन बिते । दैनिक सयौं बिरामीले भरिने हस्पिटलमा व्यवस्थापकीय पक्षको कमजोरी छ । दिनहुँजसोका लाइन, हुलदंगा, कोलाहल, फोहोर मैला, शौचालय र ढलको दुर्गन्धले बिरामी झनै सिकिस्त बन्छन् । हस्पिटल रोग निको पार्नभन्दा नयाँ र जटिल रोगको उत्पत्ति स्थल बन्ने शंका उठ्छ । पुराना भवनहरुका संरचनाको मर्मत गर्न नसक्दा बिरामीहरुलाई झनै असहज बनेको स्पष्ट देख्न सकिन्छ । नयाँ बनेको भवनमा समेत पुरानै शैलीमा फोहोर र दुर्गन्ध बढ्दो छ । अहिले गर्मी मौसममा लाम्खुट्टे र उप्पियाले बिरामी कुर्ने मान्छे पनि आतियको छन् । भुस्याहा कुकुर र बिरालोले आइसीयु कक्षमा नै भित्र छिर्न खोज्छन् । रातभर भुस्याहा कुकुरहरु भुकेर बिरामीलाई राम्ररी निदाउन समेत दिदैनन् । बिरालो उस्तै छ । के हस्पिटलमा भुस्याहा कुकुरहरूको आवश्यकता छ ? किन गेटमा सुरक्षा गार्डको व्यवस्था नगरिएको ? कि नेपाल सरकारले सरकारी हस्पिटलमा गार्ड नियुक्त गर्न सक्दैन ? यी प्रश्नहरु अस्पताल प्रशासनलाई ।
हस्पिटलमा बस्न थालेपछि मैले दिन बितेको पत्तै पाउन सकेको थिइन । किनकी चौबीसै घन्टा, मानिसहरुको चहलपहल, आउने जाने बिरामी भेट्ने मानिसको लाइन, कहिले औषधि, कहिले रिपोर्ट । मैले देखे हस्पिटलभित्र शौचालयको दुर्गन्धले रडाको मच्चाइरहेको छ । सरकार र सरकारीतन्त्रप्रति तिव्र आक्रोश पैदा भएको छ । के प्राइभेट हस्पिटलमा यस्तै हुन्छ ? के बिरामी थप बिरामी हुने आशाले हस्पिटल आएका हुन ? के बिरामीलाई लाइनमा उभ्याउनु नै स्वास्थ बिमा र सरकारी हस्पिटलको लक्ष्य हो ? के सबै हस्पिटलमा भुस्याहा कुकुरहरुको हुन्छन् ? जस्ता प्रश्नहरु मनमा उब्जिरहे छन् ? यो व्यथितीविरुद्धको अबको लडाइ हो । डाक्टरहरुलाई उपयुक्त वातावरणमा उपचार गर ।
पोखरा