काठमाडौँ, २० असार । सन् २०२३ सुरु भएयता नेपालमा एक हजार २४ जना डेंगु संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ६ महिनामा सो संख्यामा संक्रमित थपिएका हुन् । डेंगुबाट पछिल्लो ६ महिनामा एकजनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा भने जनवरीयता ९३ जना संक्रमित भएको महाशाखाको तथ्यांक छ । काठमाडौंमा ४६, भक्तपुरमा ३५ र ललितपुरमा १२ जनामा डेंगु पुष्टि भएको हो । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार दार्चुला, कास्की, धादिङ लगायतका जिल्लामा संक्रमित धेरै भेटिएका छन् । सन् २०२३ मा गत वर्षभन्दा संक्रमित कम हुने आँकलन महाशाखाको छ ।
डेंगु के हो?
डेंगु एक भाइरस हो । यसका डेंगु-१, २, ३ र ४ गरी चार वटा सेरोटाइपहरू हुन्छन् । एउटा सेरोटाइपले संक्रमण गरे संक्रमितको शरीरमा त्यो सेरोटाइपविरूद्ध एन्टिबडी बन्ने गर्छ तर त्यसले अर्को सेरोटाइपहरूबाट प्रतिरक्षा भने गर्दैन । तसर्थ एक व्यक्ति चार पटकसम्म संक्रमित हुनसक्छन् । चारै सेरोटाइपहरू नेपालमा प्रमाणित भैसकेका छन् ।
पहिलो पटक सन् २००४ मा पहिचान भएको डेंगु भाइरस सन् २०१९ मा आइपुग्दासम्म नेपालभर फैलिएको थियो । हजारौं मानिसहरू डेंगु संक्रमित भएका थिए । छिटो संक्रमण सर्ने भए पनि समयमा पहिचान र उपचार पाए डेंगुको मृत्युदर एक प्रतिशतभन्दा कममा झार्न सकिन्छ ।