काठमाडौँ, २७ जेठ । ज्येष्ठ नागरिकको अवस्था चित्रण गरेर बनाइएको वृत्तचित्र“ज्येष्ठ नागरिक”को प्रदर्शनीको आयोजना गरिएको छ ।
आइ.टि. पत्रकार मञ्च, काठमाडौँ महानगरपालिका समाजिक विकास विभागको सहकार्यमा निर्माण भएको ज्येष्ठ नागरिकको जीवनशैली र अवस्था चित्रण गरिएको सो वृत्तचित्र शनिवार राजधानीमा प्रदर्शनी गरिएको हो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिक अनुभवका खानी हुन् भन्दै उहाँहरूलाई परिवारभित्रै सम्मानपूर्वक बाँच्न पाउने वातावरणका लागि परिवारका सदस्य तथा राज्यले दायित्व सम्झेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय ज्येष्ठ नागरिकलाई परिवारबाट अलग्याएर वृद्धाश्रममा लगेर राख्ने प्रवृत्ति पनि सुरू भएको बताउँदै यस्तो प्रवृत्तिसँग आफु सहमत नहुने बताउनुभयो ।
पूर्व प्रमुख शाक्यले आजका युवाले ज्येष्ठ नागरिकको जीवन सहज बनाउन चाल्ने कदम आफ्नै वृद्ध अवस्थाका लागि जग हाल्नु हो भन्दै ज्येष्ठ नागरिकको कदर गर्ने संस्कारलाई भूल्न नहुने बताउनुभयो । सो वृत्तचित्रका निर्देशक भरतराज उप्रेतीले वि.स. २०७८ को जनगणना अनुसार नेपालमा २३ लाख ८४ हजार जना ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको जीवन सम्मानित र सहज बनाउन राज्यले ल्याएका नीति, सामाजिक सुरक्षा भत्तालगायत अन्य सुविधाले उहाँहरूको जीवनमा पारेको प्रभाव र हाल ज्येष्ठ नागरिकले भोगेको अवस्थाको बारेमा जानकारी दिंदै राज्यले बनाउने नीतिमा गर्नुपर्ने सुधारका लागि सुझाव सङ्कलन गर्ने लक्ष्यले ज्येष्ठ नागरिक वृत्तचित्र बनाइएको बताउनुभयो ।
उहाँले हाल काठमाडौँ महानगरपालिका वडा १३, १६ र २० लाई लक्ष्यित गरी ज्येष्ठ नागरिक वृत्तचित्र बनाएको र आगामी दिनमा सातै प्रदेशमा बसोबास गर्ने ज्येष्ठ नागरिकको अवस्थाबारे वृत्तचित्र बनाउने लक्ष्य रहेको पनि बताउनुभयो ।