२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेको पुष्पकमल दाहाल प्रचण्डले लामो समयको प्रतिक्षा पछि पहिलो विदेश भ्रमण भारत गएका छन् । योभन्दा पहिला चीनको विभिन्न कार्यक्रमलाई समेत रद्ध गरी भारतको निमन्त्रणाको लागि प्रचण्डले करिव ६ महिना प्रतिक्षा गरे । बल्लतल्ल निमन्त्रणा भारतले दियो, त्यो पनि हारगुहार, रोईकराई गरेपछिमात्र ।
गुलामी पनि यति धेरै गर्न लगायो कि नेपाल त भारतको एउटा प्रान्तीय राज्य जस्तो पनि हैन, दासी नै हो । परराष्ट्र नीति तथा कुटनीति नै गुलामी बनायो । नेपाललाई आफ्नो अखण्ड राज्य जस्तै व्यवहार गर्यो । यति सम्म बन्यो कि प्रचण्डले चीनको भ्रमण गरे भारत भ्रमणको निमन्त्रणा नै नदिने अवस्था बन्यो । त्यसै क्रममा माओवादी टोलीले चीनको भ्रमण गर्यो र प्रधानमन्त्री प्रचण्डको भ्रमण रोक्यो । अब भारतबाट फर्केपछि केही समयमा नै प्रचण्डले चीन भ्रमण गर्ने रणनीति बनायो । किन प्रचण्डले दुई देशबीचमा कुटनीतिलाई समानताको व्यवहार गर्न सकेनन् ? भविष्यमा यसको असर कति पर्छ ? वर्तमान नेतृत्वको कमजोरीले भावि पुस्तालाई समेत असर पर्न सक्छ भन्ने कुराको हेक्का नै राखेनन् । हेक्का राखे त केवल प्रभु (भारत)को इच्छा पुरा गर्ने । त्यती मात्र हैन, भारले नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न समेत विदेश राज्यमन्त्री मिनाक्षी लेखीलाई पठाएर कुटनीतिमात्र हैन, नेपाल र नेपालीमाथि नै ठूलो अपमान गरे । हुनत् भ्रमणका क्रममा प्रचण्डको आफ्नै छोरीले समेत कुटनीतिको ‘क’ समेत बुझ्न सकिनन्, ख्याल नै राखिनन् ।
पञ्चशिल तथा असंलग्नताको नेपालको कुटनीति प्रचण्डले बर्खाको भेलमा बगाई दिए, भारत भ्रमणले देशको शिर झुकाई दिए । भारतले प्रचण्डको भ्रमणको लागि सर्तै सर्त राख्यो । नेपाल सरकारले जधौं मालिक साव भन्दै स्वीकार्दै गयो । जधौं मालिक साव भनेर प्रचण्ड सरकारले स्वीकार्दा स्वीकार्दै पनि भारत भ्रमण राजकीय होला, सम्मानयोग्य होला भन्ने नेपालीले सोचेका थिए । तर भयो ठ्याक्कै उल्टो । भारतले आफ्नो स्वार्थ पुरा गर्न माग राख्यो, नेपालले निशर्त पुरा गर्यो । भारतले त्यसलाई फाइदाको रुपमा परिणत गर्यो तर प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रघात गरे, नेपाली जनताको शिरमा घन बजारे ।
प्रचण्डको भारत भ्रमणकै दिन गैरसंवैधानिक रुपमा राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गरे राष्ट्रपतिले । संसदको मुल ढोकाबाट विधेयक पारित गरी नेपाली भएर पनि गैरन नेपाली जस्तै बनेका नेपाली सन्तानलाई नागरिकता दिलाउने नभई आयातितलाई नेपाली बनाउने प्रकारको विधेयक सरकारले जस्केलोबाट छिराएर प्रमाणीकरण गरे । जसको असर अबको २० वर्षमा भयंकर रुपमा देखिने निश्चित छ । ओरिजन नेपाली (खास नेपाल)को जनसंख्या घट्दोदरमा जनसंख्याको तथ्याङ्कले देखाएको छ । हिजो प्रमाणीकरण गरेको विधेयकभन्दा अघि नै अंगिकृत नागरिकको संख्या बढ्दो देखिन्छ । जसमा पनि तराईका जिल्लाहरुमा मुल नेपाली भन्दा पनि अंगीकृतको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । अब विधेयकको कार्यान्वयवन आएसँगै तराईका जिल्लाहरुमा आयातित नागरिको संख्या उच्च हुने र भोलीका दिनमा कुनै पनि अप्रीय घटना बनाई जनमत संग्रह गर्ने अवस्था बनेमा बहुमत जनसंख्या नेपालको पक्षमा नभई अंगिकृतको पक्षमा देखिने छ । त्यति मात्र हैन, प्रचण्ड नेतृत्वको सरकार र गठबन्धनबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेलले राजनीतिक अपराधलाई खुल्ला गरिदिएका छन् । यतिसम्म कि भोलिका दिनमा कसैलाई आग्रह र पूर्वाग्रहकै सोच राखेर जघन्य अपराधका घटना घटाउने र कुनै एउटा राजनीतिक दल खोल्ने वा आवद्ध हुने हो भने जस्तोसुकै अपराधलाई क्षमादान गर्न मिल्छ भन्ने नजिर स्थापित गरे ।
यसबाट प्रचण्डको गिरेको साख र नाङ्गो राष्ट्रवाद प्रष्ट बनेको छ । भारतलाई मालिक मान्ने र उसले भनेका जस्तोसुकै कुरालाई पनि ‘एसमेन’ भएर निर्णय गर्ने प्रवृक्ति हावी भयो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ती र व्यवस्था परिवर्तनको लागि १० वर्षे जनयुद्ध गरेका प्रचण्डले देश र जनताको लागि नभई आफ्नो र राष्ट्रघातको नेतृत्वको लागि रहेको स्पष्ट बुझ्न सकिन्छ । विगतका सरकारले सामान्य गल्ती गर्दा समेत १० हात उफ्रने माओवादी तथा कांग्रेसका नेता विश्वप्रकास शर्मा, गगनकुमार थापा लगातका नेता तथा कार्यकर्ता अहिले मुखण्डो बसेका होलान् । किन कि बोलु आफ्नो पार्टीको नेतृत्वमा सरकार छ, काम भने भारतको एजेण्टको रुपमा मात्र गरिरहेको छ । नबोलु भने जनता आक्रोशित भई सडकमा आइसकेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणकै अघिल्लो दिन अदालतले जन्मकैद सजाय दिएको रेशम चौधरीलाई आममाफी दिईयो, उनी निर्दोष हुन् जस्तै गरी फुलमालाका साथ सम्मान गरी जेलमुक्त गरियो । टिकापुरमा भएको जघन्य अपराधको नेतृत्वकर्ता चौधरीलाई उन्मुक्ति दिई हत्या गरिएका ७ जना सुरक्षाकर्मी र एक जना नावालक नै दोषी जस्तै बनाईयो ।
रेशम चौधरीलाई दिएको आममाफी र राष्ट्रघाती नागरिकता विधेयकले नेपाललाई नै सिक्कीमिकरण हुने अवस्थाले वर्तमान प्रचण्ड नेतृत्वको सरकार र राष्ट्रिपतिलाई कालो टीका त लाग्यो नै । गुमेको हैसियत र नेपाललाई ठीक दिशामा फर्काउन अब कठिन बन्दै गएको छ । फर्काउनको लागि नेपालमा हिटलर जस्तै निरंकुश शासक आएमात्र सम्भव बन्ने अवस्था बन्दै गयो । किन कि अहिलेका नेतृत्वले गरेको सन्धी सम्झौता र लालमोरले आफुले आफैलाई कडा रुपमा बाध्दै छ, जुन बाँधेको डोरी फुकाउन ठूलै क्रान्ति गर्नुपर्ने हुनसक्छ । त्यो पनि आफ्नो देशभित्र भन्दा पनि छिमेकी देश भारतसँग । भारतकै योजनामा उद्योग, कलकारखाना, खोलानाला, नेपाली जमिन, विद्युतीय क्षत्रेलगायतका कुराहरु भारतलाई घुमाउरो भाषामा जिम्मा लगाइयो । अब भारतीय जनता पार्टीका नेताकै अभिव्यक्तिलाई आधार मान्ने हो र प्रचण्ड र राष्ट्रपतिको व्यवहारलाई हेर्ने हो भने नेपाल भारतको अखण्ड राज्य बन्दै छ । भाजपाका नेताले नेपाललाई भारतको अखण्ड राज्य बनाउन अहिलेकै गतिमा गए १२/१३ वर्षमा बनाउन सकिन्छ तर अलि रणनीति परिवर्तन गरे ६÷७ वर्षमा नै बनाउन सकिने अभिव्यक्ति दिइरहेका छन् । यो अभिव्यक्ति र अंगिकृत नागरिकलाई एक हातमा सिंदुर अर्को हातमा नागरिकता दिँदा देशको अवस्था के हुन्छ ? देशभक्त नेपालीले गंभिर भएर सोच्ने अवस्थामा पुगेको छ ।
प्रचण्डले राष्ट्रको हितमा हुने भनिएको भारत भ्रमणको पहिलो निर्णय नै नागरिकता विधेयक पारित गरेको खोस्टो खल्तीमा लगाएर भारतीय मालिकलाई बुझाए । मन्त्री, कर्मचारी, पत्रकार, सहयोगी गरी सय जनाभन्दा बढीको जन्ती नै लिएर भारत भ्रमण गर्न गए । त्यति ठूलो संख्याको के आवश्यकता थियो ? के मासुभात खान सय जना भन्दा बढी लिएर जन्ती गएका हुन् ? भन्ने प्रश्न खड्कीएको छ । मदन भण्डारीले भनेका थिए, ‘एक जना राजा रहने र नरहने कुराले त्यत्रो ठूलो आपत्ती गर्दैन तर सामन्तवाद, दलाल, नोकरशाही पुँजिवाद र साम्राज्यवादको शोशण रह्यो भने राजा नरहे पनि बास्तबमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन ।’ हो प्रचण्डको नेतृत्वमा अहिले देश र जनताको स्थितीमा कुनै परिवर्तन आउने देखिएन ।
गणतन्त्रका नाममा जनताको निधारमा कालो टीका लाग्यो भने जनताले उक्त कालो टीका पुच्छ्दा गणतन्त्र नै मेटिन सक्छ । बरियात लिएर गएपछी दुलही लिएर आउन नसक्नेले उतै घर जुवाई बस्नु पर्दछ । नत्र ठूलो बेज्जत त बेहुला भन्दा बढी जन्तिहरुको हुन्छ । त्यसैले गल्ती गर्नेलाई सजायको भागिदार बनाऔं, व्यक्तिलाई कालो टीका लागोस् तर देशलाई कहिले नलागोस्, शिर नझुकोस् । त्यसको लागि सवैले होस्टे, हैंसे गरौं, मेरो र तेरो हैन, राष्ट्रका पक्षमा आवाज बुलन्द गरौं । विपी कोइरालाले भनेका थिए, ‘नेतृत्वले गलत गर्दा पनि टुलु टुलु हेरेर बस्ने कार्यकर्ता, या त चरम अबसरवादी हुन्, या त दास हुन् ।’ त्यसैले पृथ्वीनारायण शाहको राष्ट्र निर्माण र जंगबहादुरको सिमा ब्यवस्थापनका जगमा राजा महेन्द्रको राष्ट्रियता, विपी कोईरालाको प्रजातन्त्र र पुष्पलालको समाजबादलाई आत्मसात गर्न सकेको भए आज नेपाल संसारकै समृद्ध र शक्तिशाली राष्ट्र हुने थियो । सबै कुराको बैज्ञानिक कारण मात्र नखोजौं । त्यसका मनोबैज्ञानिक कारण पनि महत्वपूर्ण हुन सक्छन् । त्यसैले कसैको दासी हैन, देश र जनताको पक्षमा पौरखी बनौं ।
त्यसैले प्रचण्डले अबका दिनमा बन्द गर ती जनयुद्धका राष्ट्रियताका गीतहरु, छोपी देऊ बरु घाम जुन, जनता र स्वयं गीत कै अपमान हुने सबै तिम्रा राष्ट्रघाती रीतहरु । एउटा भनाई छ, ‘जब एउटा जोक्कर दरबार पस्छ, उ राजा हुदैन । सिङो दरबार नै सर्कसमा परिणत हुन्छ ।’ त्यसैले बहुदल हुँदै गणतन्त्र आएपछि नेपालको होइन्, दलका नेता र नीतिको मात्र हाबी भयो, नेपाल विदेशीको चावीमा रहयो । राष्ट्रिय सहमति कायम हुन सकेन । नेपाली भन्दा जातीय र क्षेत्रीय पहिचानको मुद्दा अगाडी आयो । आखिर द्वन्द मात्र भयो ।
सम्पादकीय