काठमाडौँ, २२ चैत । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ ।
अज परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।
सरकारले १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ । टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ ।
टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।







