भक्तपुर, ५ फागुन । नेपाल सरकारको स्वामित्व रहेको भक्तपुर अस्पताल विगतका केही राजनीतिक नेतृत्वका दलदलमा फसेर तहसनहसको अवस्थामा पुगेको थियो । जसले गर्दा आम नागरिकले संवैधानिक रुपमा ज्ञारेन्टि भएको स्वास्थ्य क्षेत्रमा पाउने सुविधाबाट बञ्चित हुने अवस्था बनेको थियो । तर त्यसलाई पाँच दलीय गठबन्धनको सरकार बनेभन्दा अगाडीको सरकार तथा जनप्रतिनिधिको विशेष पहलमा सुधारको बाटो तय भएको थियो । जनताले राम्रो उपचार सरकारी संस्थाबाट पाउने आशा जागेको थियो ।
विगतका सुपरिटेण्डेन्टले भक्तपुर अस्पताललाई देशकै नमूना बनाउने अभियान सञ्चालन गर्नुभएको थियो । जसले गर्दा भक्तपुर अस्पताल उत्कृष्ट बन्न सफल भएको थियो । राजनीतिक आग्रह र पूर्वाग्रह हैन, जनताको जीवन रक्षा नै पहिलो प्राथमिकता हो भन्ने मान्यतालाई लागु गरिएको थियो । तर उक्त कुरा जनताको पक्षमा भएकोले वर्तमान पाँच दलीय गठबन्धनलाई टाउको दुःखाई बन्यो । कारण हो, राजनीतिक प्रतिशोध । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने गतिविधि गर्नु कस्तो राजनीति हो ? जनताको प्रश्न बनेको छ ।
यसै क्रममा कांग्रेसको नेतृत्व आएसँगै भक्तपुर अस्पतालमा नयाँ निमित्त मेसुको रुपमा श्रीधर अर्याल आउनुभएको छ । कांग्रेसको कोटाबाट निमित्त मेसुको जिम्मेवारी पाउनुभएका अर्याल आएसँगै उहाँको पहिलो निर्णय नै बनेको छ, ६ जना आइसियुमा कार्यरत नर्सलाई निकाला गर्ने । आइसियु जस्तो गंभिर क्षेत्रमा कार्यरत नर्सलाई निकाला गरि जनताको बाच्न पाउने अधिकारलाई समेत कुण्ठित गर्न मेसु अर्याल तल्लिन बन्नुभयो । जसले गर्दा जनताको स्वास्थ्य सम्बन्धी संवैधानिक अधिकारलाई समेत लत्याउने कुचेष्ठा गर्नुभयो मेसु अर्यालले । जसले गर्दा अस्पतालमा सुधारको बाटो नभई आतंकको बाटो शुरु भएको अस्पतालमा कार्यरत कर्मचारी र नागरिकको गुनासो रहेको ।
मेसु अर्याल अस्पतालमा आएसँगै अस्पतालको सुधारको पाटोमा अगाडी बढ्ने र जनताको जीवन रक्षा गर्ने नभई आफ्नो भर्तिकेन्द्रको रुपमा अस्पताल बनाउने खेल सुरु भएको गुनासो शुरु भएको छ । नाम उल्लेख नगर्ने सर्तमा अस्पतालका एक कर्मचारीले भन्नुभयो, “मेसु अर्याल आएसँगै अस्पतालमा सुधारको पाटोभन्दा पनि राजनीतिक प्रतिशोधको बाटो समात्नुभयो । अस्पतालमा सवै प्रकृया पुरा गरी नियुक्त हुनुभएका नर्सहरुलाई एक्कासी निस्कासन गर्नु गैरकानुनी प्रकृया मात्र नभई ज्यादती नै भयो । सहज रुपले काम गर्ने वातावरण हरायो ।”
विना कारण मेसु अर्यालले ६ जना नर्सलार्य निकाल्नुभएको गुनासो व्यक्त गरिएको छ । उहाँले कुनै औपचारिक पत्र समेत नदिई फोनबाट नै काम गर्न नआउनु भनि जानकारी गराई निकाल्नुभएको छ । आफुहरुले अस्पतालले मंसिरमा सूचना जारी गरि प्रतिष्पर्धाको आधारमा नियुक्तिको सवै कानुनी प्रकृया पुरा गरेर अस्पतालमा नियुक्त लिएको निकालिएका नर्सहरुले उल्लेख गरेका छन् ।
निकालिनु भएकको एक नर्सले भन्नुभयो, “अस्पतालबाट सूचना प्रकाशित भए अनुसार हामीले प्रतिष्पर्धाको आधारबाट आएका हौं, नियुक्त भएका हौं । तर अहिले मेसु अर्याल आएर विना कारण हामीलाई औपचारीक जानकारी समेत नगराई फोन गरी आजबाट नआउनु भनि भन्नुभयो । यसले अस्पतालमा कार्यरत कर्मचारीलाई मात्र हैन, उपचारमा रहनुभएका विरामी तथा आफन्तमा समेत आंकत सिर्जना भएको छ ।”
मेसु अर्यालले भने उक्त कुराहरुको प्रतिवाद गर्नुभएको छ । कानुनी प्रकृया मुख्य कुरा भएकाले उहाँले बताउनुभयो । प्रदेश सरकार तथा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने तर नलिइकन सूचना प्रकाशित गरेको उहाँको दावी रहेको छ । प्रकृया पुरा नगरी गरेकाले जिम्मेवारबाट हटाएको समेत उहाँले दावी गर्नुभयो । विगत मंसिरमा सूचना प्रकाशित गरिएता पनि उक्त सूचना कानुन विपरित गरेको उल्लेख गर्दै उहाँले उक्त सूचनाका आधारमा नियुक्त गरिएको भनिएका ६ जना नर्सहरुले हालसम्म पनि नियुक्ति नलिएको बताउनुभयो ।






