लमजुङ, २२ माघ । लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।
प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५०० मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।
त्यस्तै विसं २०७६ मा नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने विसं २०७५ मा पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । रासस







