दुर्गमले उछिन्यो सुगमलाई

जाजरकोट, ७ कार्तिक । दुर्गम क्षेत्रको बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ । स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरेका समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा बारेकोट पहिलो नै भएको थियो ।

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाई गरिएका समीक्षामा बारेकोटले १०० मा ६१.९२ अङ्क ल्याएर प्रथम भएको हो । त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रोे भएको सो कार्यालयले जनाएको छ । यसैगरी छेडागाड नगरपालिका ४९.६०, कुशे ५४.६१, शिवालय ४८.२६ र जुनिचाँदे गाउँपालिकाले ४२.१७ अङ्क प्राप्त गरेका थिए ।

भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोटका सबै ठाउँमा सडक पुगेको छैन । पछिल्लो समय जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको जनाइएको छ । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।

स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो । उनका अनुसार स्वास्थ्य सस्थामा नियमित गर्भजाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्रयाक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको जनाइएको छ ।

स्टेचरको अभाव
कुशे गाउँपालिकाका सबै वडामा स्टेचरकै अभाव भएको छ । चालीस स्टेचर अभाव रहेको जनाइएको छ । सो पालिकामा प्रसूति गराउने पाँच शय्याको माग भए पनि अझै तीन अपुग छ । सामान्य खालको शय्याको सङ्ख्यासमेत अभाव रहेको समीक्षामा बताइएको छ । प्रसूतिगृहमा चाहिने टर्च लाइट शून्य छ । सुरक्षित गर्भपतन सेवा गाउँपालिकामा नहुँदा समस्या हुँदै आएको छ । दर्ताबिना १३ मेडिकल सञ्चालनमा रहेकोसमेत पाइएको छ । पूर्ण संस्थागत प्रसूति भएको वडाका सङ्ख्यासमेत शून्य छ ।

नाम मात्रैका भाडामा सञ्चालनमा रहेका पाँच बर्थिङ सेन्टर रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको सबै स्वास्थ्य संस्था भाडामा सञ्चालनमा रहेको पाइएको छ । तीन रोपनी जग्गा मात्र स्वास्थ्य संस्थाको नाममो छ । मापदण्डअनुसार निर्माण भएका प्रसूति केन्द्रको सङ्ख्या शून्य छ । त्यस्तै नलगाड नगरपालिकामा वर्ष दिनदेखि एक्सरे नहुँदा समस्या हुँदै आएको छ । त्यस्तै गर्भनिरोधक सुई डिपोको गत चैतदेखि नै अभाव रहेको पाइएको छ । सबै स्वास्थ्य संस्थामा औषधिको अभाव सधैँ रहने गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक