स्वास्थ्यकर्मीको मनोबल बढाउँदै हिलिहाङ

पाँचथर, २१ असार । जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ । कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन हौसला बढाउने उद्देश्यसहित गाउँपालिकाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बढाएको छ । 

गाउँपालिकाले करार सेवामा काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको तलब एकैसाथ सात हजारका दरले वृद्धि गरेको छ । सामुदायिक स्वास्थ्य एकाइहरुमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरुले हाल मासिक १८ हजार तलब पाउँदै आएकामा गाउँपालिकाले उक्त तलब वृद्धि गरी २५ हजार पुर्याएको छ । यस्तै स्वास्थ्य संस्थाहरुमा करारमा कार्यरत कार्यालय सहयोगीहरुको तलब रु नौ हजार ६०० बाट वृद्धि गरी मासिक १५ हजार पुर्याइएको छ ।
 
गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायमा परिचालित हुन उत्प्रेरित गर्न खाजा तथा पोशाक खर्चका रूपमा वार्षिक २४ हजार दरले सुविधा उपलब्ध गराउने विषयलाई समेत नीति तथा कार्यक्रममा समेटेको छ । हिलिहाङले गत वर्षदेखि नै महिला स्वास्थ्य स्वयंसेविकालाई बढी सुविधा दिई उत्प्रेरित गरेको भनी प्रसंशा हुने गरेको छ । 

गाउँपालिकाले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भने विगतदेखि नै दिँइदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तारका लागि तीन लाख बजेट छुट्याएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सामेल हुन चाहने तर दर्ता शुल्क बुझाउन नसक्ने गाउँपालिकावासीका लागि उक्त बजेट छुट्याइएको हो । 

हिलिहाङले आगामी वर्ष आवश्यकतानुसार वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्नसमेत बजेट विनियोजन गरेको छ । सङ्क्रमितको पहिचान, कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार र यस्तै प्रकारका महामारीविरुद्ध लड्न गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी दिए । यस्तै यस गाउँपालिकाले महामारीका समयमा दीर्घरोगीहरुलाई अत्यावश्यक औषधिहरुको निःशुल्क वितरणका लागि समेत बजेटको प्रबन्ध गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष