काठमाडौँ, ६ जेठ । काठमाडौँको बालाजुमा रहेको जनमैत्री अस्प्तालले कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गर्ने भनेपनि एक लाखसम्म रकम असुलेको पाईएको छ ।
तत्कालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने सरकारको निर्णयअनुसार जनमैत्री अस्पताल १ सय शैया क्षमतासहित सञ्चालनमा आएको थियो । उक्त अस्पतालले यसअघि कोरोना संक्रमित विरामीहरुको निःशुल्क उपचार गर्ने भनेको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वर्ष ६० का रामचन्द्र श्रेष्ठसँग अस्पतालले भर्ना हुनुअघि नै १६ हजार लिएको र पछि एक लाख रकम लिएको पाईएको हो । श्रेष्ठ गत बैशाख ३० गते अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँको उपचारकै क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका सदस्यहरुले भने निःशुल्क उपचार गर्छु भन्ने अस्पतालले प्रचारमात्रै गरेको तर व्यवहारमा त्यस्तो नभएको गुनासो पोखेका छन् । अस्पताल भर्ना हुनेबित्तिकै १६ हजार तिरेको र लगत्तै एक लाख डिपोजिट गरेको मृत्तकका साला राजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालले ७७ हजार र प्लस अरु पनि रकम तिर्नुपर्छ भनेको छ । तर, श्रेष्ठले भने बाँकी पैसा आफ्नो नाममा राखिदिन अस्पताल प्रशासनलाई आग्रह गरेको गर्नुभयो ।
यसअघि उनीहरूले बिरामी भर्नाको समयमा १६ हजार र १ लाख रुपैयाँ सिद्धार्थ बैङ्कबाट ट्रान्सफर गरिदिएका थिए । अस्पतालले बाँकी ७७ हजार र औषधीको थप केही रकम मागेको थियो । सो रकम तत्काल तिर्न भन्दै अस्पताल प्रशासनबाट मृतकका आफन्तलाई लगातार फोन गरी दबाब आइरहेको थियो । आफन्तले उपचार खर्च महँगो भएको भन्दै गुनासो राखे । सबै पैसा तिरे पनि सबै हिसाब बुझाउने अस्पतालले बतायो ।
तर ‘कुन कुन शीर्षकमा कति खर्च भएको हो’ भनेर बिल नदिएसम्म पैसा भुक्तानी नगर्ने आफन्तले बताएपछि दाहसंस्कार गर्न अस्पतालले शव दिन मान्यो । मृत्यु भएको १३ घण्टापछि दिउँसो ३ बजे पछि मात्रै सेनाको टोलीले शव उठाएर लग्यो ।कुन-कुन शीर्षकमा कति कति खर्च भएको भन्ने हिसाब खोजेपछि मात्रै पैसा माग्न छाडेको मृतकका सालो नाता पर्ने सबु श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले एक लाख १६ हजार तिरिसकेका छौँ । कति खर्च भएको हो ? कुन–कुन शीर्षकमा कति खर्च भएको देखाइदिनुस् भनेपछि अस्पतालले हिसाब देखाउन सकेन । अनि ल भैगो भन्दै तिर्नु पदैन भनेको छ ।’ सरकारले कोभिडका बिरामीको उपचार गरेबापत सरकारी अस्पताललाई शुल्क तिर्छ। अस्पतालमा कोभिड–१९ केयर सञ्चालन सम्झौतामा संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्य उपचारका लागि ३ हजार ५ सय, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचार (भेन्टिलेटर) का लागि १५ हजार प्रति बिरामी प्रतिदिन तय गरिएको छ।
तर जनमैत्री अस्पतालले भने मृतक रामचन्द्र श्रेष्ठको उपचारको लागी एक दिनको २२ हजार भन्दा बढी शुल्क देखाएको आफन्त बताउँछन् । मृतकका आफन्त भन्छन् ‘एक साताको बिल २ लाख बढी आउनु भने सरकारले तोकेभन्दा अत्यधिक बढी शुल्क राखेर नै हो । नियम अनुसारको शुल्क लिने हो भने दैनिक ७ हजारका दरले ५० हजार हाराहारीको मात्रै बिल आउँथ्यो ।’
रबी लामिछाने र सञ्चालनमा आउन लागेको ग्यालेक्सी टेलिभिजनको समूहको सहकार्यमा सो अस्पताल चलाइएको हो । अस्पताल प्रांगणमा टेलिभिजनको गाडी र लामिछाने फाउन्डेसनको व्यानर समेत राखिएको छ । लामिछाने आफैले ‘सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको कारणले’ आफूहरूले निःशुल्क उपचार गर्ने दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो भाइरल गराइरहनुभएको छ ।







