प्रधानमन्त्री ओलीको प्रस्ताव काँग्रेसद्वारा अस्वीकार

काठमाडौँ, २३ वैशाख । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई भेटेका छन् । निकटका नेताहरूसहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्न आग्रह गरे । एमाले र कांग्रेस नमिलेसम्म प्रतिनिधिसभाले नयाँ सरकार दिन नसक्ने जनाउँदै ओलीले सहकार्यका लागि प्रस्ताव पनि गरे । कांग्रेस नेताहरूले भने ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।

सभापति देउवासहितका नेताहरूले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न ओलीलाई सुझाव दिए । वैशाख २७ गते संसद्मा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीले राजीनामा गर्न कांग्रेस नेताहरूले गरेको आग्रहलाई खासै महत्व दिएनन् । बरु उनले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएको भन्दै सहयोग गर्न आग्रह गरे । उनले नयाँ सरकार पनि गठन नहुने र विश्वासको मत पनि नपाउने अवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान अप्ठेरोमा पर्ने धारणा राखे । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्वाचनमा जानु नै उपयुक्त विकल्प रहेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले स्वच्छ, निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता जनाए । उनले चुनावी सरकारमा सहभागी हुन पनि कांग्रेसलाई आग्रह गरेका थिए ।

आगामी निर्वाचन कांग्रेसले जित्ने अवस्था रहेको आशायसहितको धारणा राखेका ओलीले भेटमा भनेका थिए, ‘प्रतिपक्षमै बसेर कांग्रेसले चुनाव जित्यो भन्दा तपाईंहरूलाई पनि राम्रो हुन्छ । तर होइन हामी पनि सहभागी हुनुपर्छ भन्ने लागेको छ भने तपाईंहरू पनि सहभागि हुनुहोस्, मिलेर चुनाव सम्पन्न गराऊँ । म त्यसका लागि खुला छु ।’

उनले केपी ओली निरंकुश छ, समयमा निर्वाचन गराउँदैन भन्ने जस्ता कुराको पछि नलाग्न आग्रह गरे । आफू लोकतान्त्रिक शासन व्यवस्थाका लागि जेलनेल बसेको भन्दै आशंका नगर्न समेत उनले आग्रह गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा रहेका प्रधानमन्त्री ओलीले मिलेर सत्तासाझेदारी गर्न नसके त्यसअघि नै निर्वाचनमा जान प्रस्ताव गरेका थिए ।

‘समयमा निर्वाचन गराउँछु । म त भन्दैछु केही समयअघि नै चुनावमा जाऊँ,’ ओलीलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘सरकारबाहिर बसेर सहयोग गर्ने वा होइन, केके हो भन्ने लागेको छ भने सरकारमा सहभागी बनौं, मिलेर चुनाव गरौं । तपाईंहरूको बहुमत आउँछ । सरकार बनाउनुस् ।’

जवाफमा कांग्रेस नेताले प्रधानमन्त्री ओलीको भनाइ र गराइमा फरक रहेको भन्दै विश्वास गर्न नसकिने धारणा राखेका थिए । एमालेसँग मिलेर संविधान निर्माण गरे पनि सरकारमा सहभागी भएपछि त्यसको मर्म र भावनाअनुसार काम नगरेको भन्दै सभापति देउवासहितका नेताले असन्तुष्टि जनाएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा