काठमाडौँ, ५ चैत । अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म विकास खर्च न्युन हुनुमा कोभिड-१९ महामारी नै मुख्य कारण भएको बताएको छ ।
अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो । अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म १७.८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । यस अवधिमा चालु खर्चमा भने ११.२ प्रतिशतको वृद्धि भएपनि पुँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा १८.७ प्रतिशत कम भएको छ । वित्तीय व्यवस्थामा समेत गत आवको तुलनामा यो वर्ष ३१।७ प्रतिशत कम खर्च भएको छ । यसअवधिमा कुल संघीय खर्च भने ३३.८८ प्रतिशत भएको छ ।
चालु आर्थिक वर्षमा ४ खर्ब ६ अर्ब ७२ करोड (३३.९ प्रतिशत) रहेको छ भने पुँजीगत ६२ अर्ब ८४ करोड (१७.८ प्रतिशत) रहेको छ । वित्तीय व्यवस्था ३० अर्ब ११ करोड (१७.४ प्रतिशत) रहेको छ भने राजस्व लक्ष्यको ६.५८ प्रतिशत रहेको छ । माघसम्म सरकारले लक्ष्यको ९६.५८ प्रतिशत मात्र लक्ष्य भेटाउन सफल भएको छ । यो वर्ष सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व उठाउने लक्ष्य राखेको छ । माघसम्म यस्तो लक्ष्य ५ खर्ब ४९ अर्ब ५१ करोड थियो ।
यसबीचमा प्राप्ति भने ५ खर्ब ३० अर्ब ७२ करोड भएको छ । राजस्वमा उत्पादन, बिक्री तथा सेवामा लाग्ने मूल्य अभिवृद्धि करले राम्रो भरथेग गरेको पाइएको छ । यस्तो मूल्य अभिवृद्धि करमा १०९.९२ प्रतिशतको प्रगति देखिएको छ । भन्सार महसुल भने ९६.५२ प्रतिशत मात्र प्रगति भएको छ । कुल मूल्य अभिवृद्धि करमा भने ८८.७५ प्रतिशत मात्र प्रगति छ ।
अन्तःशुल्क लक्ष्यको ८४.६८ प्रतिशत उठेको छ । आयकरको प्रगति समेत मात्र ९५.७४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । अन्यकरको प्रगति ९१.०३ प्रतिशत देखिन्छ । गैरकर राजस्व ८२.३९ प्रतिशत प्रगति छ । माघसम्मको तथ्यांकअनुसार भन्सार महसुलमा गत आवको यसै अवधिको तुलनामा २१.१ प्रतिशतको वृद्धि भएको छ । आयकर संकलनमा गत आवको यसै अवधिको तुलनामा ९.६ प्रतिशतको गिरावट आएको छ ।
माघसम्म भन्सार विन्दुमा संकलन भएको कर रु २ खर्ब २२ अर्ब ४१ करोड रहेको छ भने आन्तरिक राजस्व २ खर्ब ३५ अर्ब ६९ करोड रहेको छ ।






