काठमाडौँ, १० वैशाख । काठमाडौँको पिङ्गलास्थान स्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको खोप अहिले स्वास्थ्य केन्द्रले सुरक्षाका प्रबन्धहरु मिलाएर खोपलाई फेरि निरन्तरता दिएको हो ।
स्वास्थ्य केन्द्रकी जनस्वास्थ्य निरीक्षक रञ्जना कुमारी साहका अनुसार लकडाउनको समय र कोरोनाको संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस् भन्ने विषयलाई ध्यान दिँदै खोप कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरिएको र स्वास्थ्य उपकरण सामग्रीहरुको प्रयोगमा समेत सचेतना अपनाइएको बताइन् । आज बुधबार मात्रै ३४ जना बालबालिकालाई खोप दिइएको उनले बताइन् ।
राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मने वितिक्कै बिसिजी, ६ हप्ता र १० हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र पिसिभी, १४ हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र आइपिभीको खोप लगाउनु पर्छ । यस्तै बच्चा जन्मेको ९ महिनामा पिसिभी, दादुरा रुबेला, १२ महिनामा जापनिज इन्सेफलाइटीस र १५ महिनामा दादुरा रुबेलाको खोप लगाउनुपर्ने खोप तालिका रहेको छ ।






