काठमाडौँ, २८ पौष । सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय योग शिक्षाको पाठ्यक्रम तयार गरेको छ ।
यसैगरी विभिन्न विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म योग विषय अध्ययनअध्यापनका लागि तयारी गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्को ‘टी–एसइई’ को ‘लेभल २’ मा तीनवर्षे योगार्थी कक्षा सञ्चालन हुन थालेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा लेखनाथ पौडेलले विगतमा कक्षा ९ मा योग विषयको पाठ्यक्रम रहेकामा अब एकीकृत पाठ्यक्रमका रुपमा कक्षा १२ सम्म योग, प्राकृतिक चिकित्सा र आयुर्वेदका अलग अलग तीन ऐच्छिक विषय पढ्न सकिने जानकारी दिए ।
उनले पाठ्यक्रम तयार भइसकेकाले लागू गराउन चाहने विद्यालयले माग गरेका आधारमा पाठ्यपुस्तक उपलब्ध हुने जानकारी दिए ।