एजेन्सी । अर्जेन्टिनाका लागि मेक्सिकन राजदूतले १० डलर मूल्य पर्ने एउटा किताब चोर्दै गरेको काण्ड बाहिरिएपछि अन्ततः पदबाटै राजीनामा दिएका छन् ।
अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सस्थित एक किताब पसलमा छिरेका ती राजदूतले किताब चोर्दै गरेको भिडियो गत अक्टोबरमा सार्वजनिक भएको थियो । राजदूत रिकार्डो भालेरियो किताब चोरी काण्डमा परेपछि मेक्सिकन सरकारले उनलाई डिसेम्बरको सुरुमै फिर्ता बोलाएको थियो । अन्ततः उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै राजदूत पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजिनामालाई मेक्सिकोको विदेश मन्त्रालयले स्वीकार गरेको बताइएको छ ।
पसलको सीसीटीभी क्यामरामा ती राजदूतले एउटा किताब र्याकबाट निकालेर आफ्नो काखीमुनि पत्रिकाभित्र लुकाएर चेपेको दृश्य कैद भएको थियो । उनले चोरेको उक्त किताब अठारौँ शताब्दीका इटालियन लेखक जियाकोमो कासानोभाको बायोग्राफी थियो ।