एजेन्सी, २९ असोज । बंगलादेशको राजधानी ढाकास्थित मीरपुर क्षेत्रमा रहेको एउटा कपडा कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
फायर सर्भिसका अनुसार जलेर पहिचान गर्न नसकिने अवस्थामा १६ वटा शव भेटिएका छन्। मंगलबार चार तले कारखानामा आगलागी भएपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू शोकाकुल हुँदै भेला भएका थिए ।
मध्याह्नतिर लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आए पनि छेउको एक रसायन गोदाम भने जलिरहेको थियो । बंगलादेशमा सुरक्षा मापदण्डमा लापरबाही र कमजोर पूर्वाधारका कारण ठुला आगलागीका घटनाहरू सामान्यजस्तै छन्, जसमा पछिल्ला वर्षहरूमा सयौँले ज्यान गुमाएका छन् ।
अधिकारीहरूका अनुसार रसायन गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइड जस्ता प्रज्वलनशील वस्तुहरू भण्डारण गरिएको थियो । फायर सर्भिसका निर्देशक मोहम्मद ताजुल इस्लाम चौधरीले पीडितहरूले ‘अत्यन्तै विषालु ग्यास’ का कारण तुरुन्तै मरेको हुनसक्ने बताएका छन् ।
प्रहरी र सेनाले कारखाना र गोदामका मालिकहरू पत्ता लगाउने प्रयास गरिरहेका छन् । सन् २०१३ मा ढाकामा भवन भत्किँदा १,१०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जुन देशको सबैभन्दा ठुलो औद्योगिक दुर्घटना हो । बीबीसी







