काठमाडौँ, ८ पौष । महिला आधारसिला जोरपाटी र मेलम्ची नगरपालिका भोटेकोचौरमा आयोजित निःशुल्क आँखा शिविरबाट सात सय २१ जना लाभान्वित हुनुभएको छ ।
महिला आधारसिला जोरपाटीले नेपाल नेत्रज्योति सङ्घको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविरमा सहभागीमध्ये ७९ जना मोतिविन्दुको समस्या भएको पाईएको छ ।
विशेष गरी महिला, दलित, मधेसी सिमान्तकृत वर्गका ६०–८९ वर्षसम्मले शिविरमा निःशुल्क आँखा जाँच गराउनुभएको महिला आधारसिलाका अध्यक्ष रेणु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ७९ जनाकै मोतिविन्दुको निःशुल्क सल्यक्रिया नेपाल नेत्रज्योती सङ्घ कीर्तिपुरमा भइरहेको जानकारी दिनुभयो ।

घरेलु हिंसाबाट पीडित महिला दिदीवहिनीको उद्धार, कानुनी सहयोग गर्दै आएको महिला आधारसिलाले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत नै हरेक वर्ष निःशुल्क आँखा शिविरको आयोजना गर्दै आएको छ ।
वि.स. २०५२ मा स्थापना भएको महिला आधारशीलाले “हिंसा पीडित महिलालाई सर्वप्रथम सुरक्षित आवास, त्यसपछि सीपमार्फत् आत्मनिर्भर बनाउने काम पनि गर्दै आएको छ ।

संस्थाका महासचिव कमला उप्रेतीका अनुसार, हिंसा पीडित महिला र सीप सिकेर आत्मनिर्भर बन्न चाहने अन्य महिलालाई संस्थाले निःशुल्क तालिम दिँदै आएको छ । संस्थाले सल बुन्ने, जुत्ता बनाउने, हाउस वायरिङ, मोबाइल मर्मत गर्नेलगायत तालिम दिँदै आएको छ ।
भक्तपुर, काभे्र, सुनसरी, मोरङ र झापालगायत ११ जिल्लामा शाखा विस्तार गरेको आधारशीलाले काठमाडौँ, भक्तपुरमा हिंसा पीडित महिलाको उद्धार र संरक्षण मात्र गरिन्छ । हिंसा पीडित महिलालाई मनोवैज्ञानिक परामर्श दिएर आत्मविश्वास बढाउने कार्य समेत गरिने संस्थाका मनोपरामर्शदाता गीता न्यौपाने बताउनुभयो ।








