काठमाडौँ, १० मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ ।
गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने हुन्छ । नगरपालिकाको सो निर्णयपछि अब तिलोत्तमाका सबै गर्भवतीले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् ।
आमाको गर्भबाटै शिशुले आवश्यक पोषक तत्व पाउन सकून् भन्ने उद्देश्यले गर्भवतीलाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।
नगरपालिकाका १० सरकारी स्वास्थ्य संस्थामार्फत वार्षिक तीन हजार बढी महिलाले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् ।






