चुरोटभन्दा घरमा हुने वायु प्रदूषण दमको मुख्य कारण

काठमाडौँ, ४ मंसिर । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ ।

चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पंगेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताए ।

उनले प्रदूषणले उपत्यकामा दमरोग बिरामीको संख्यामा वृद्धि हुँदै  गएको उल्लेख गरे । डा. पंगेनीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल लगायतका अस्पतालहरूमा दमका बिरामीको संख्या बढ्दै गएको छ ।

डा. पंगेनीले सहरी क्षेत्रका १५ प्रतिशत जनसंख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताए । शिक्षण अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउने गरेका छन् । यसअघि भक्तपुरमा तीन वर्ष लगाएर गरिएको सर्वेक्षणमा समेत १५ प्रतिशत मानिसलाई दमरोग लागेको थियो ।

तथ्यांकअनुसार विश्वमा २५ करोड मानिस दमरोगी रहेको पाइएको छ । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गरेको छ । यस्ता रोगीहरूमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक छन् ।

विश्व रोगभार सर्वेक्षण २०१६ ले नेपालमा नौ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको जनाएको छ । विश्वमा प्रतिलाख जनसंख्यामा तीन हजार छ सय दमखोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको संख्यामा छन् । त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ । त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुष दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ । यो समाचार आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।