काठमाडौँ, १५ असार । आज असार १५ दही चिउरा खाने दिन भनेर आजको दिनलाई चिनिन्छ ।
दही चिउरा असार पन्ध्रमा मात्र खाने परिकार होइन । यो वर्षायामको खाजा हो । वर्षायाममा अरु खानेकुरा सड्ने, गल्ने, बासी हुने भएकाले दही-चिउरा उपयोगी मानिन्छ ।
वर्षायाममा किसानहरुलाई काम चटारो परेको हुन्छ त्यसैले छिटोमिठो खाजानै दही-चिउरा मानेर नास्ताको रूपमा लागि खाने गर्दछन ।
दही चिउरा सेवन गर्नु स्वास्थ्यसँग पनि सम्बन्धित छ । वर्षायाममा झिंगा, लामखुट्टे, साङ्लाको माध्यामबाट खानेकुरामा संक्रमण सर्ने गर्दछ । यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ ।त्यसैले दही-चिउरा खानु स्वस्थ्यवर्द्धक मानिन्छ
त्यस्तै दहीमा भएको व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पुर्याउँछ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्छ । दहीमा कार्बोहाइड्रेट, भिटामिन बि, सि हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ । चिउरा सड्ने, गल्ने, बासी नहुने भएकाले स्वास्थ्यवर्द्धक खानेकुरा हो ।
दहीका फाइदा
– दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ ।
–दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ ।
चिउराका फाइदा
– चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ ।
– प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ ।
– फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ ।






