काठमाडौँ, १२ जेठ । लायन्स क्लव अफ अब्बल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खडकाले अहिलेको समयमा युवाहरुले आफुलाई आफ्नो पढाईमा मात्र सीमित नराखी सामाजिक कार्यमा समेत लाग्न आफुलाई उत्प्रेरित गर्नु पर्ने बताएका छन् ।
विद्यार्थीको मुल काम पढ्नु नै हो ता पनि आफुले पढेको विद्या, जानेको सिप र सिकेको ज्ञान समाजको भलाईमा उपयोग गर्नुपर्ने बताए । समाज हरेक व्यक्तिका लागि प्रयोगशालाको रुपमा रहेको बताउंदै उनले आफ्नो ज्ञान, सिप र बुद्धि समाजरुपी प्रयोगशालामा प्रयोग गर्दै नजाने हो भने पछि गएर भुत्ते हुन गै कालान्तरमा बेकामे हुन सक्ने बताए ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट 325 B1 अन्तरगतको लायन्स क्लव अफ अव्वल भ्यालीले आफ्नो युवा प्रोजेक्टको रुपमा लियो क्लब अफ अव्वल भ्यालीको गठनको क्रममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै चार्टर प्रेसिडेन्ट एवं सर्वोच्च अदालत वार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता लायन राजु खडकाले उक्त कुरा बताएका हुन् ।
त्रि। वि। चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजमा एमबीबीएस अध्ययनरत बिद्यार्थीहरुको एउटा समुह तयार गरी लियो क्लब अफ अव्वल भ्यालीको गठन उक्त कार्यक्रममा गरिएको थियो । नवगठित उक्त लियो क्लबमा लियो बिबेक पौडेल प्रेसिडेन्ट, भिष्मराज मिश्र भाइस प्रेसिडेन्ट, बिकास बश्याल सेक्रेटरी र ऐश्वर्या पाण्डे कोषाध्यक्ष रहेका छन् ।

नवगठित उक्त लियो क्लबका पदाधिकारी तथा सदस्यहरुको लागि आयोजित उक्त प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट 325 B1 का पूर्वक्याबिनेट सेक्रेटरी हालकाको चिफ एड्भाइजर तथा पूर्व लियो लिडर लायन मणिश्रीरत्न बज्राचार्यले एउटा लियोले जान्नुपर्ने आवश्यक विषयवस्तुको वारेमा उत्कृष्ट ढंगबाट प्रशिक्षण दिएका थिए । लियो लिडरहरुको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रममा लायन्स क्लब अफ अव्वल भ्यालीका भाइस प्रेसिडेन्ट लायन राजेन्द्र बरालले धन्यवाद मन्तव्य राख्दै युवाहरुको जोश र पाकाहरुको होश सहितको जोश मिल्ने हो भने एउटा छुट्टै शक्ति पैदा हुने र त्यसले समाजमा महत्वपूर्ण टेवा दिनसक्ने बताए ।

प्रशिक्षित लियोहरुका तर्फबाट लियो बिबेक पौडेल लगायतका अन्य सहभागीहरुले आफुहरु लियो अभियानमा आवद्ध भैसकेकोले लायन्स क्लब अफ अव्वल भ्यालीका कार्ययोजना कार्यान्वयनमा उत्साहपूर्ण सहभागिताका अतिरिक्त आफुले सकेसम्म समाजमा सकारात्मक योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।







