बुटवल, ११ बैशाख । बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ ।
देवदह नगरपालिका–९ को जंगलमा रहेको स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मिन बहादुर गौतम क्षेत्रीको मृत्यु भएको हो ।
गौतमको मृत्यु भएपछि उनीसँगै रहेका साथीहरुले शव उक्त स्थानमा नै गाडेर छाडेका थिए । यता परिवारले वैशाख १ गतेदेखि गौतम हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला पर्यो ।
अनुसन्धान गर्दा गाउँको एक समूहले मिलेर थापेको विद्युतीय धरा पमा परी गौतमको गत २ गते मृत्यु भएको भएको धराप थाप्ने समूहका अन्य सदस्यले घटना लुकाउन अन्यत्रै लगेर गाडेको खुल्यो । त्यसपछि प्रहरीले जंगलमा गाड्ने पाँच जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुन रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।






