काभ्रेपलाञ्चोक, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकता सम्पन्न भए पश्चात नेपालमा अब नेकपा बाहेक कुनै शक्तिशाली पार्टी नहुने दावि गर्नुभएको छ ।
जनसांस्कृतिक महासङ्घ नेपालद्वारा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रममा बोल्दै नेता खनालले नेकपा शाक्तिशाली पार्टी बनेर उदायको बताउनुभयो । उहाँले एकतापछि यो पार्टी अझै सुदृढ र शक्तिशाली भएर आउने स्पष्ट पार्नुभयो ।
उहाँले पूँजीवादबाट मुक्त हुन नेतालाई आग्रह गर्दै उहाँले भन्नुभयो, ‘अब नेकपा एक भएर ठूलो शक्तिका रुपमा स्थापित हुन्छ, नेपालमा अब योबाहेक कुनै शक्तिशाली पार्टी हुँदैन ।’ शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताउँदै उहाँले भन्नुभयो, ‘बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल हो ।’
पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केको केही दिनमै पार्टी एकताको टुङ्गो लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘राजनीतिक प्रतिवेदन पनि तयार हुँदैछ, अध्यक्ष कमरेड आएपछि सबै टुङ्गो लाग्नेछ ।’
पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शहीदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षार्थ संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘एकताबद्ध भएर प्राप्त उपलब्धीलाई संस्थागततर्फ लाग्नुपर्छ ।’ नेकपा स्थायी समिति सदस्य मणि थापाले जनताभन्दा ठूलो कुनै शक्ति नभएकाले जनताकै शक्तिलाई सर्वोपरी मान्नुपर्ने बताउनुभयो ।






